जबरजस्ती करणी गरी हत्यागरेको अभियोगमा २ जना पक्राउ

गुगलपाटी संवाददाता मोरङ
२१ माघ २०७५ ०७:२७

जबरजस्तिकरणी गरी बालिकाको हत्या गरीएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा आर्इतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका,८ बलुवाही बस्ने १९ वर्षीय चन्दु महतो र सोही ठाउँ बस्ने २५ वर्षीय भुट्टु भन्ने अब्वास अन्सारी रहेका छन् । घटना पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट तत्काल अनुसन्धानमा खटिएको प्रहरीले अभियुक्तको खोजी तथा अपराधको गहन अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

माघ १२ गते राति करिब ८ बजे बालिका दास हराएको भन्दै उनका बाबुले प्रहरीमा निवेदन दिएपछि तत्काल खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर नजिकै बालिकाको चप्पल र टोपी तथा स्थानीय सिंघिया खोलामा माघ १३ गते निर्वस्‍त्र अवस्थामा शव फेला परेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुका साथै संकलित सबुदहरु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं तथा औषधी व्यवस्था विभागमा समेत पठाएको थियो ।

अनुसन्धानको क्रममा घटनास्थलमा विभिन्न व्यक्तिहरुसँग सोधपुछ, सबुदको खोजी एवं विश्‍लेषण, ‘डग स्निफिङ’ को साथै शंकास्पद व्यक्तिको पहिचानका लागि निगरानी, खबर संकलन तथा मिहिन ढंगले अध्ययन अनुसन्धान तथा विश्‍लेषण पछि अपराधमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

घटना हुने दिन साँझ अब्वास र चन्दुबीच पीडितको घर नजिकै भेट भएको, जबरजस्ती करणी गर्ने सल्लाह भएपछि बालिकालाई नजिकैको चौरमा लगी मुख थुनेर जबरजस्ती करणी गरेको तथा घाँटी थिचेर मारी शव खोलामा फालेको, बालिकाको लुगा खोला किनारमा लुकाएको, भोलिपल्ट अब्वासले शव अड्किएको ठाउँबाट पुनस् धकेलिदिएको अनुसन्धानबाट खुल्न आएको छ ।