सोनाम ल्होसारमा हेटौंडामा महोत्सव

गुगलपाटी संवाददाता
२३ माघ २०७५ ००:५७

हेटौंडा–  मकवानपुरमा तामाङ समुदायको नयाँ बर्ष अर्थात सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाएका छन् ।

ल्होसाररका अवसरमा हेटौँडाको टिसिएन चौरमा सोनाम ल्होछार महोत्सवको आयोजना गरिएको थियो । तामाङ भेषभूषामा सजिएका युवायुवती देखि बालबालिका पनि तामाङ पहिरहनमा सजिएका थिए । महोत्सवमा तामाङ सास्कृतिको विभिन्न स्टलहरु, साँस्कृतिक कार्यक्रम भयो । महोत्सवमा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शनी राखिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश तीनका सांसद कुमारी मोक्तनले तामाङ समुदायले पनि देशको परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । आदिवासी जनजातिहरुको अधिकार अझै पनि कुण्ठित नै रहेको भन्दै उनले जनजातिहरुको अस्तित्वलाई सबैले सम्मान गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै अर्का सांसद प्रेमबहादुर पुलामीले एक भएर अघि बढ्न आग्रह गर्दै जनजातिहरुको भूमिकालाई सरकारले कमजोर ठानेको बताए । कार्यक्रममा बोल्दै अधिकाशंले प्रदेश तीनको नाम नेवाः ताम्सालिङ नै राख्नु पर्नेमा जोड दिएका थिए ।

ल्होसारसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होछसर मनाउनका लागि प्रदेश ३ सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।