प्रधिकरणको लापरबाहीका कारण एक महिलाको रुखमै करेन्ट लागेर मृत्यु

गुगलपाटी संवाददाता प्युठान
२४ माघ २०७५ ०५:४८

बुधवार दिँउसो प्युठान नगरपालिका वडा नम्बर ९ सिमलगैरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। उनी घाँसकाट्ने क्रममा बाँसको रुखमा चडेका बेला रुखले विद्युतको तार छुँदा स्थानीय निशा भण्डारीेको सोही रुखमै जलेर ज्यान गएको हो।

मृतककी सासु पुतला भण्डारीले तीन दिन पहिले विद्युत् लाईन मर्मतका लागि आएका नेपाल विद्युत् प्राधिकरण प्युठानका कर्मचारीलाई उक्त रुख हटाइदिन आग्रह गरे पनि नमानेको बताइन्। प्राधिकरण प्युठानका प्रमुख रमेश बञ्जाडे घटनाबारे स्थानीयले जानकारी गराए पनि उनी घटना स्थलमासमेत आएका छैनन्। माग सम्बोधन गर्नुको ‘सट्टा प्राविधिक कुरा हो,’ भनी आनाकानी गरिरहेको मृतकका आफन्तले बताए। उनले माथिल्लो निकायसम्म जाहेर गर्ने काममा समेत पहल गर्न आनाकानी गरेको मृतकका परिवारको भनाई छ।

घटनापछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्य, वडा नम्बर ८,९ र १० का वडा अध्यक्ष लिलाप सिंह केसी, नेहरसिंह केसी र पदम गिरीलगायतका जनप्रतिनिधि घटना स्थलमा पुगेका छन्। तर विद्युत प्राधिकरणका कर्मचारीसँग मृतकका परिवारलाई आबश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग राख्दा प्राधिकरणले आनाकानी गरेपछि मृतकको शव अझै रूखमा झुन्डिएको अवस्थामा छ। स्थानीय र प्रहरीले रातभर घटनास्थलको पहरा दिइरहेका छन्।

३ बर्षको नाबालककी आमा निशाको विद्युत प्राधिकरणको कमजोरीको कारणले मृत्युु भएको भन्दै स्थानीयले शव उठाउन मानेका छैनन्।उनीहरुले विद्युत् प्राधिकरणका कर्मचारीले गल्ती महशुस गरी माफी माग्नु पर्ने, नाबालक छोराको लालनपालन र शिक्षा दीक्षा र रोजगरीको व्यवस्था प्राधिकरणले गर्ने जिम्मा लिनुपर्ने माग गरेका छन्। त्यस्तै पिडित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, यथाशीघ्र विद्युतको पोल मर्मत र रूख कटान गरी सुरक्षित अवस्था सृजना गर्ने माग राखेका छन।

विद्युत लाइनमा भएको लापरवाहीको बारेमा जानकारी दिदाँ वा मर्मत गर्न सुझाव दिदाँ समेत विद्युत प्राधिकरणका प्रमुखले चासो नदिएको कारणले यस्तो घटना भएको जनप्रतिनिधिहरूको भनाई छ । वडा अध्यक्ष , उपमेयर , मेयर तथा सांसदहरूले पटक पटक सुझाव दिदाँ पनि विद्युत प्राधिकरणले माग सम्बोधन नगरेकै कारणले यस्तो घटना भएको वडा न.८ वडा अध्यक्ष लिलापसिंह केसीले बताए। ‘विद्युत प्राधिकरणको कार्यालय रहेकै नगरपालिकामा यस्तो हालत छ भने अन्य स्थानीय निकायको हालत कस्तो होला,’ अर्का वडा अध्यक्ष पदम गिरीले आक्रोस पोखे।

प्युठान जिल्लामा विद्युत प्राधिकरणको लापरवाहीका कारण दजनौ घटना घटेको र कैयौं जिल्लाबासीको ज्यानसमेत गएको उपमेयर शान्ता आचार्यले बताइन्। विहिवार विहानसम्म माग सम्बोधन प्राधिकरण कार्यालयमा तालाबन्दी गर्ने चेतावनी स्थानीयले दिएका छन्।