भारत लैजाँदै गरेका १८ बालबालिकाको हेटौंडाबाट उद्धार
गुगलपाटी संवाददाताहेटौंडा– लामा बनाउने नाममा कानुनी प्रक्रिया नपु¥याई भारत लैजान लागेका १८ बालबालिकालाई मकवानपुर प्रहरीले उद्धार गरेको छ ।
मकवानपुरको विभिन्न स्थानमा बसोबास गर्ने ७ बालिका र ११ बालकलाई प्रहरीले हेटौंडा बसपार्कबाट उद्धार गरेको हो । कानुनी प्रक्रिया नपु¥याई भारतको कालिङ्पोङ लैजान लागेको अवस्थामा बालबालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
राक्सिराङ गाउँपालिका–१ का १८ बर्षीय साङ्गे मुक्तान र बागमति गाउँपालिका–८ बस्ने वर्ष २४ का सोनाम दोर्जे लामाले काकडभिट्टातर्फ लैजाँदै गरेको अवस्थामा ना ६ ख १५२० नम्बरको बसबाट उनीहरुलाई उद्धार गरेको हो । बालबालिकाको अभिभावकको स्वीकृति लिएर नै लैजान लागेको देखिएपनि अन्य कानुनी प्रक्रियाहरू नपु¥याएकोले उनीहरुको उद्धार गरेको प्रहरी निरीक्षक थापाले बताए ।
माईती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामा, जिल्ला सेवा केन्द्र प्रमुख बिन्दा बर्तौला, सिविन बाल हेल्पलाइन जिल्ला कार्यक्रम संयोजक सम्झना अधिकारीको रोहवरमा बालबालिकाको अभिभावक बोलाएर जिम्म लगाएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरेको मध्ये एक बालकको अभिभावक सम्पर्कमा नआएकोले सिविन बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बताइएको छ । बालबालिका लैजान खोज्ने मुक्तान र लामालाई आवश्यक सोधपुछ पश्चात आफन्तको जिम्मामा छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।