झरनाले दश जनालाई सम्मान गर्ने

गुगलपाटी संवाददाता  हेटौंडा
२७ माघ २०७५ १०:०२

छतिवनमा स्थापना भएको मकवानपुरको पुरानो तथा लोकप्रिय साहित्यीक सस्थाको परिचय बनाउन सफल झरना साहित्य परिवारले २६ औँ स्थापना दिवसको अवसरमा यो वर्ष विशेष कार्यक्रम गर्ने भएको छ ।
हटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि झरनाले दुई दिवसिय कार्यक्रममा १० जनालाई सम्मान गर्ने जनाएको हो । झरना साहित्य परिवारका अध्यक्ष दिपक गौतमले यो वर्षको कार्यक्रममा १० जना विशेष ब्यक्तित्वलाई सम्मान गर्ने जानकारी दिए ।

फागुन १७ र १८ गते बकैया गाउँपालिका वडा नंबर ४ छतिवनमा हुने कार्यक्रमको पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका एक सय जना विद्यार्थिहरुको लागि “वाल साहित्य र लोक साहित्य सम्वन्धी कार्यशाला गोष्ठि”को आयोजना गर्ने गौतमको भनाई छ । गोष्ठिमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर देवी नेपालको विषेश आतिथ्यता रहने जनाईएको छ ।

फागुन १८ गते २३५ औँ साहित्य श्रृङ्खला तथा बृहत साहित्य गोष्ठि र श्रष्टा सम्मान हुने गौतमले बताए । यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान बाट नगद ११,५५५ सहित प्रगतिवादी वरिष्ठ साहित्यकार डा। रामप्रसाद ज्ञवाली, गुल्मी, बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मानबाट नगद ११,१११ सहित वरिष्ठ साहित्यकार तुल्सी थापा, मकवानपुर, शिव–सावित्री अधिकारी स्मृति मुक्तक साहित्य सम्मानबाट नगद ११,११ सहित मुक्तककार÷साहित्यकार केशव आचार्य, झापा, सम्मानित हँुदैछन्।

त्यसैगरी खडानन्द–मनमाया प्रतिभा सम्मानबाट नगदसहित प्रगतिशील साहित्यकार केशव सिलवाल, ललितपुर, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७५ वाट नगद ५५५५ सहित साहित्यकार मुना अर्याल, मकवानपुर, सञ्जीवनी बुटी साहित्य सेवा पुरस्कारबाट नगद सहित धर्मदत्त न्यौपाने, मकवानपुर सम्मानित हुनेछन् ।

त्यसैगरी पत्रकारितामार्फत् झसापको श्रीवृद्घिमा योगदान गरेबापत सम्मानपत्रसहित देवप्रसाद श्रेष्ठ, स्थापनाकालदेखि तत्कालीन छतिवन गा. वि. स. को जनप्रतिनिधि रहँदा विशेष सहयोग गरेबापत शेरमान गोले, दलबहादुर वाइबा, कृष्णप्रसाद चौलागाईँ र बेलप्रसाद दहाललाई समेत सम्मानित गरिने भएको छ । बकैया गाउँपालिकामा तामाङ समुदायबाट विशेष योगदान गर्ने एक ज्येष्ठ महिला र पुरुषलाई समेत सम्मान गरिने छ भने विशिष्ट आजीवन सदस्यहरूलाई समेत सम्मानित गरिदै छ ।
कार्यक्रममा विश्वनाथ सञ्जेलको क्षितिज यात्रा मुक्तक सङ्ग्रह समेत विमोचन हुने जनाईएको छ ।