बाबुराम प्रधानमन्त्री हुँदा रात बिताएको घर होम स्टे मा परिणत हुँदै
गुगलपाटी संवाददाता हेटौंडाबाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं.४ टुवाङ्ग्रास्थित सानो सोमलाल बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ ।
सोही बनकरियाको घरलाई होम स्टे बनाउने गरी काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार, चालु आर्थिक बर्षमा बनकरिया बस्तीमा होम स्टे लगायतको काम गर्ने गरी ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
सोही रकमबाट सो घरलाई होम स्टेमा रुपान्तरण गरी पर्यटक प्रर्वदनमा सहयोग पुर्याउने योजना गाउँपालिकाको रहेको जनाएको छ ।
होम स्टे निर्माणका लागि माया बनकरिया संयोजक रहने गरी होम स्टे व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजक सन्तमाया बनकरिया रहेको सो समितिमा सदस्यहरु सुन्तली, कान्छिमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुब खड्का संरक्षक रहेका छन् ।
आज आइतबार होम स्टे निर्माण सम्बन्धमा सरोकारवालासँग छलफल कार्यक्रम समेत आयोजना गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडा अध्यक्ष ध्रुब खड्का, समाजसेवी रामहरि बिष्टलगायतको उवस्थिती रहेको थियो ।
निर्माण गरिएको समितिले तत्काल चित्लाङ होम स्टेको भ्रमण गराइने योजना समेत बनाइएको छ ।
भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल माघ २६ गते तत्कालिन हाँडीखोला गाविसको वडा नं. ७ ट्वाङ्ग्रामा उनको घरमा बसेका थिए ।