मूल्य घटाएर शेयर निष्काशन गर्दै सिवम् सिमेन्ट
गुगलपाटी संवाददाताहेटौंडा– शिवम सिमेन्टले मूल्य घटाएर शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको मूल्यमा घटाएर फागुन ६ गतेदेखि शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको छ । बाँकी रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन गर्न सक्ने छन् ।
सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम ४४ लाख कित्ताको लागि आवेदन गर्न सक्ने छन् । आवेदन दिनको छिटोमा फागुन ९ र ढिलोमा चैत्र ५ गतेसम्मको मिति तोकिएको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।
यस अघि शेयर भरेका स्थानीयलाई निःशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा २ लाख २ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो ।
यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निःशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।स्थानीयको लागि छुट्याइएको शेयर मध्ये बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि स्थानीयले पुन आवेदन दिन सक्ने भएका छन् ।
यस पटक उनीहरुले प्रति कित्ता २ सय मै आवेदन दिन सक्ने छन् । यस अघि स्थानीयको रुपमा आवेदन दिएका र नदिएकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
स्थानीयले न्युनतम ५० कित्ता र अधिकतम ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस अघि मकवानपुरबासीलाई प्रतिकित्ता ३ सय रुपैयाँ र सर्वसाधारणलाई ४ सय रुपैयाँमा शेयर बिक्री गर्ने योजना बनाएको थियो ।