मजुवा खानीका बसिन्दा आपतमा, विद्यालयनै नरहला भन्ने पिर

गुगलपाटी संवाददाता हेटौंडा
३ फाल्गुन २०७५ ०५:५२

वरपर डाँडापाखामा रहेका सुन्दर बस्ति, माथि घना जंगल त्यसको बिच भिरालो पहरामा मकवानपुरगढी–५ मा मजुवा खानी अवस्थित रहेको छ ।

हेटौंडाको मुख्य बजारबाट करिब १५ किलोमिटर उत्तरपुर्ब लागेपछी आई पुग्ने मजुवा खानीमा अहिले भित्र लुकेर रहेको चुनढुङगा निकाल्नका लागि मजुवाको पुरै डाँडा नै जताततैबाट खोतल्दै गरेका एक्साभेटर, देख्दा अत्यास लाग्ने भएको डाँडामा माथीबाट ढुङ्गा, माटो, ग्रेभल त्यतिकै जथाभाबि छरपस्ट रुपमा फालिएको छ ।

माथी हेर्दा पनि ढुङ्गा माटो झरेर हेर्न डर लाग्ने तल हेर्दा पनि पहिरो सलल बगेझै अत्यास लाग्दो देखिन्छ । तर, यस्तै पहरामा निलो रंगमा देखिने सिमेन्टको चुनढुङगा निकाल्दै गरेका नौ वटा एक्साभेटर ।

मजुवा खानीमा हेटौंडा सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् गर्दै गर्दाको दृष्य निकै उराठ लाग्दो देखिन्छ । यही खानी जथाभाबि रुपमा उत्खनन् गर्दै गर्दा यहाँ न कुनै प्राविधिक, न कुनै विज्ञ, एक्साभेटर चालकका भरका एउटा सिङगै डाँडाबाट एक्साभेटर चालक आफै ईन्जिनियर बनेर डाँडा कपेर पहिरो लडाई गरिरहेका थिए ।

खानी भन्दा अली पर, चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु तलबाट डाँडा खोतलेको हेरेर बस्न बाध्य थिए ।

खानीको फेदैमा रहेको अमरसिंह प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकको उस्तै मलिन अनुहार ।

उनिहरुको एउटै चिन्ता छ, जथाभावि खानी उत्खन् गरेर डाडैभरी फालिएको ओभरबटमका कारण बर्षायाममा विद्यालय पनि बगाउँछ । पढ्न र पढाउँन पाईदैन भन्ने ठुलो चिन्ता रहेको विद्यालयकी शिक्षिका गीता संजेल गुनासो गर्छिन ।

खानीको फेदैमा विद्यालय भएकाले खानी चलाउने हो भने यसलाई अन्यत्र सार्नुको बिकल्प नभएको बताउँदै शिक्षका संजेल भन्छिन् –माथी खानीतर्फ हेर्दा कहाली लाग्छ, बर्षायाममा बिद्यालय लान्छ । खानीबाट चुनढुङ्गा व्यवस्थित रुपमा निकाल्नुपर्छ ओभरबटमको नियन्त्रण गर्नुपर्छ भनेर विद्यालयको हितमा बोल्दा मलाई लगेर प्रहरीको हिरासतमा हालियो ।–’

हिउँदमा सामान्य पानी पर्दापनि खानी क्षेत्रमा पहिरो लडेको भनेर चिन्ता गर्दै गरेका शिक्षक र विद्यार्थीहरु अहिले पनि उत्तिकै चिन्तामा छन् ।

यता तल बस्तिका वासिन्दाहरुको आँखा खानीमा उत्खनन् गरेर खसिरहेको माटो र त्यसमा धुलोको मुस्लो देख्ने बित्तीकै झनै चिन्ता लाग्नेगरेको गढी गाउँपालिका वडा नम्बर ५ ज्यामिरेका स्थानीय भरतप्रसाद फुँयाल बताउँछन् ।

ठूलो बस्तिसँगै खानीसँगै रहेको शारदा मावि, ५ नम्बर वडा कार्यालय, स्वास्थ्य चौकी, विभिन्न संघ संस्थासँगै मानब बस्ति बढी जोखिममा रहेको बताउँदै स्थानीय फुँयाल भन्छन् –गढी गाउँपालिका र यहाँको वडा कार्यालयले एकले अर्कालाई दोस लगाएर खानीबाट जताततै फालिएको ओभरबटम नियन्त्रण गर्नका लागि चासो दिइएन ।’

ठूलो बस्तिको बीचमा रहेको मजुवा खानी व्यवस्थित रुपमा संचालन गर्नुको सट्टा जथाभावि रुपमा प्राविधिकको उपस्थिति बिना खानी उत्खनन् गर्ने र यहाँका गहिरा, खोल्सा, डाडैभरी ओभरबटम फाल्दा यो समस्या परेको स्थानिय वासिन्दाहरु बताउँछन् ।

पुर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले खानी संचालन गर्दा पहिले स्थानिय वासिन्दा, वडा कार्यालय, गाउँपालिका कार्यालयसँग गरिएका सहमति पालना गरेर मात्र खानी संचालनमा लागि माग गरिएको तर त्यसको सुनुवाई नभएको बस्ति संरक्षण समितिका सचिव ईन्द्रजित देवकोटा बताए । सहमति गरेका धेरै सर्त उद्योगले पालना नगरेको उनी बताउँछन् ।

जिल्ला समन्वय समिति र वडा कार्यालयमा भएका सबै सहमती कार्यान्वयन गर्नका लागि दवाव दिइएको र केही सहमती मात्र काम हुदै गरेको गढी गाउँपालिका वडा नंम्बर ५ का अध्यक्ष जितबहादुर घिमिरे बताए ।

खानी संचालन गर्नका लागि हेटौंडा सिमेन्ट उद्योग, चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसाई कन्ट्रक्सनले ओभरबटम व्यावस्थापन गर्नका लागि खानीमै जाली भरेर ग्राभेल निस्कनै नदिने, ज्यामिरे देखि कालिवन, सिमल्टारसम्म सिमेन्टको क्रंकिट ढलान सहितको ठूला चेकड्याम हाल्ने, स्थानिय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने, सिमेन्ट उद्योगले विद्यालय स्थानान्तरण गर्ने, खानी प्रभावित घर, जग्गाको मुआब्जा दिने लगायतका सहमती भएको छ ।

ती सहमती मध्यमा ज्यामिरेमा स्लाब ढलानको काम भईरहेको छ । तर बस्ति संरक्षण गर्नका लागि कुनै पनि काम नभएको स्थानिय वासिन्दाहरु बताउँछन् ।

मजुवाखानी संचालन गर्नका लागि पहिले स्थानिय वासिन्दा र गाउँपालिकासँग भएका सम्झौता कार्यान्वयनबाट नभाग्ने हेटौंडा सिमेन्ट उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपाने बताए । उद्योगसँग भएका सहमती बिस्तारै कार्यान्वयनमा लगिने उनले बताए । खानीबाट निस्किएका ओभरबटम ओमसाई कन्ट्रकसनले नै व्यावस्थापन गर्ने गरी ठेक्का गरिएको र उसैले व्यवस्थापन गर्नुपर्ने अध्यक्ष न्यौपाने बताए ।

यसैगरी चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसाई कन्ट्रक्सनका संचालक होमनाथ गौतमले भने ओभरबटम व्यवस्थापनका लागि टिफरबाट ओसारेर गढी गाउँपालिकाको बुङ्दलमा ल्याउन थालिएको बताए ।

स्थानियको चर्को विरोधपछि अहिले उत्खनन् गर्दाको ओभरबटम ल्याएपनि खानी क्षेत्रको डाँडैभरी छरिएको ग्राभेल, ढुङगा, माटोको व्यावस्थापन गर्नका लागि ठूलै चुनौती रहेको स्थानियको भनाई छ ।