तेस्रोपटक थपिएको म्याद सकिँदा पनि बनेन पुल

गुगलपाटी संवाददाता खोटाङ
६ फाल्गुन २०७५ ०६:२९

तेस्रोपटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन ।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।

पुल निर्माणको काम करीब दुई प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए ।

‘निर्माणाधीन पुलको रङ्ग रोगन र साइड क्लियरेन्सको काम मात्र बाँकी छ’, उनले भने, ‘पुल सञ्चालनमा आउन अब धेरै समय लाग्दैन । चाँडै सम्पन्न गरेर उद्घाटन गर्ने तयारीमा लागेका छौँ ।’

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम अनपेक्षित पछाडि धकेलिएको स्थानीयको आरोप छ ।

करीब रु छ करोडको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् ।

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै विरोधका आवाज उठ्ने गरेको छ । (रासस)