तीन नम्बर प्रदेशको राजधानी भक्तपुर !

अशेष ढुङ्गाना हेटौंडा,२६
२६ चैत्र २०७४ ११:४९

केन्द्रीय राजधानी र प्रदेश राजधानी सँगै रहने गरी तीन नम्बर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रदेश नम्बर तीनको स्थायी राजधानी भक्तपुर बनाउन प्रस्ताव गर्दै सोमबार प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव दर्ता भएको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुर राजधानी बनाउन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीले बताए । ‘आज दिउँसो प्रस्ताव दर्ता भएको छ’, उनले भने, ‘यो विषयलाई कहिले प्रदेशसभा बैठकमा एजेण्डा लैजाने माननीय सभामुख ज्यूले भने अनुसार हुन्छ ।’
प्रदेशसभा सदस्यद्वयले भक्तपुरलाई राजधानी बनाउन १० आधारसहित प्रस्ताव दर्ता गरेका हुन् । यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई राजधानी बनाउन प्रस्ताव दर्ता गरिसकेका छन् ।

तर सरकारले भने तत्कालै राजधानीको विषयलाई प्रदेशसभामा नलैजाने स्रोतले बताएको छ । तर हेटौंडा सहित चार स्थानमा प्रदेश स्थानीय राजधानीको बारेमा प्रदेशसभामा छलफल र मतदान हुने भएपछि हेटौंडाबाट सर्ने सम्भावना भने न्युन रहेको छ ।

हाल कायम रहेको प्रदेश राजधानी स्थान्तरण गर्ने प्रयास गर्दा देशका अन्य बिवादमुक्त नभएका प्रदेश राजधानीमा पनि यसको प्रभाव पर्ने देखिन्छ ।