बांग्लादेशको आगलागीमा परेर मृत्यु हुनेको संख्या ७०, थुप्रै घाइते

गुगलपाटी संवाददाता काठमाडौं
९ फाल्गुन २०७५ ०७:३४

बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन् ।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजेपछि आगो लागेको हो । रासायनिक पदार्थको गोदाम रहेको भवनामा आगो लागेको हो । राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो ।

आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो बिहान मात्र नियन्त्रणमा लिन सकिएको अधिकारीहरूले बताएका छन् । महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा भएको छैन । खानले भने, ‘केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन् । तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो ।’(बीबीसी)