आईसीसी उमन्स टि-२० : नेपाल थाइल्यान्डसंग हार्यो
गुगलपाटी संवाददाता काठमाडौंअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाल आफ्नो दोस्रो खेलमा पराजित भएको छ। नेपाललाई बिहीबार भएको खेलमा आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको हो।
यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो।बिहीबार बैंककमा भएको खेलमा १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाउन सक्यो।
नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनरद्वय कजोल श्रेष्ठ र रोमा थापा १–१ रन जोडेर आउट भएका थिए। लगत्तै कप्तान रुबिना क्षेत्री बेलवासे पनि ३ रनमा रनआउट हुँदा नेपाल सुरुवातमै संकटमा पर्यो। त्यसपछि इन्दु बर्मा र सीता रानामगरले चौथो विकेटका लागि ४८ रनको साझेदारी गर्दा नेपालको स्कोर बढेको थियो। इन्दु ४४ बलमा १ चौकाको मद्दतमा २९ रनमा आउट भएका थिइन्। सीताले ३४ बलमा १८ रन बनाइन्।
नेरी थापा २ रन, ममता चौधरी ५ रन र सरिता मगर पनि १ रनमै आउट भए।
बलिङमा थाइल्यान्डकी एच ट्रिपोचले २ विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २४ रन जोडे। थाइल्यान्डक लागि चानिदा सुत्थिरुङले ३५ रन जोडिन्। उनले २९ बलमा ३ चौका प्रहार गरेका थिइन्। नारुमोल चाइवाइले ३२ रनको योगदान गर्दा लेइङप्रासर्टले नटआउट २८ रन बनाइन्।
बलिङमा नेपालकी कविता कुवँर र नेरी थापाले २–२ विकेट लिए। कप्तान रुबिना क्षेत्री बेलवासै र करुणा भण्डारीले १–१ विकेट हात पारे।
नेपालले अब भोलि संयुक्त अरब इमिरेट्स ९यूएई० सँग खेल्नेछ। यस्तै नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।