प्रदेश नम्बर ३ को सरकारले दुईवटा वैज्ञानिक सम्मेलन गर्ने

गुगलपाटी संवाददाता हेटौंडा
१० फाल्गुन २०७५ १०:१२

हेटौंडा,प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्ने भएको छ । ति सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन र नेपालपभित्रका राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन ।

नेपालमै पहिलो पटक सरकारी निकायले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्न लागेको हो ।

हेटौंडामा आज उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयमा भएको कार्यक्रममा विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग र व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र विभागबीच वैज्ञानिक सम्मेलन गर्ने सम्झौतापत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, मन्त्री अरुण नेपाल र विश्वविद्यालय जल तथा मौसम विभागका निर्देश डा. दीपक अर्याल र प्रविधिक अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा आजको मितिदेखि जेष्ठ मसान्त भित्रमा सम्मेलन गरिसक्नु पर्ने जनाइएको छ ।
दुवै युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा हुने जानकारी दिइएको छ । विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागले सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो । सार्क सम्मेलनको खर्च ५० लाख हुनेछ । जेष्ठको २२ र २३ हुने सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलनमा नेपालका ५० भन्दा बढी र दक्षिण एसियाका ८ देशका १५ जना युवा वैज्ञानिकहरुको सहभागिता रहनेछ । दक्षिण एसियाका युवा वैज्ञानिकहरुलाई नेपालका युवा वैज्ञानिकहरुसँग एउटै कार्यक्रममा सहभागी गराई विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका नविनतम ज्ञानहरुको बारेमा जानकार गराइनेछ ।

साथै व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र विभागले राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन तथा अनुसन्धान कार्यपत्र प्रकाशन गर्ने जिम्मेवारी लिएको छ । राष्ट्रिय युवा सम्मेलनको खर्च ३० लाख हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ । वैशाख १० र ११ गते हुने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा नेपालका १ सय ५० भन्दा बढी युवा वैज्ञानिक अनुसन्धान तथा खोजकर्ताहरु सहभागी हुनेछन् । सम्मेलनमा दुई प्रकारका कार्यक्रम सञ्चालन हुनेछ । २० देखि २५ वर्ष उमेर समूहका र २५ देखि ४५ वर्ष उमेर समूहका युवा वैज्ञानिकहरुबीच भिन्न भिन्न कार्यक्रम हुनेछ । सम्मेलनले नेपालभित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नव प्रतिभाहरुलाई थप प्रोत्साहन तथा हौसला बढाउने उद्देश्य राखेको छ ।