आजका पत्रपत्रिकाः रानीखेतले कुखुरा भसक्कै, किसान मर्कामा

गुगलपाटी संवाददाता
१५ फाल्गुन २०७५ ०२:२६

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् ।

२०७७ सम्म बालबिवाह अन्त्य गर्ने हेटौंडा उपमहानगरपालिकाको लक्ष्य, इजरायलको सीपले बाँझो बगर हरियो बन्यो, फागुन अन्तिम साता हेटौंडा गोल्डकप, गोल्डकपलाई भूगर्भ सिमेन्टले साथ दिने, ८४ किलो गाँजा बरामदलगायतका समाचार प्राथमिकताका साथ छापिएका छन् ।

त्यसैगरी हेटौंडा–७ र ८ मा व्यवसायिक रुपमा पालिएका लेयर्स कुखुरा धमाधम गर्न थालेपछि किसान मर्कामा परेको समाचार आजको हेटौंडा सन्देशले लेखेको छ । एकैपटक १५ हजारभन्दा बढी कुखुरा मरेपछि बर्डफ्लूको हल्ला चलेको थियो ।

तर, कुखुरा व्यवसायी संघले हिजो पत्रकार सम्मेलन गरी बर्डफ्लुले नभई रानीखेत नामक रोगले कुखुरा मरेको स्पष्ट पारेको छ । हेटौंडा–७ का दीपेन्द्र गौतमले पालेका लेयर्स कुखुरा एकैदिनको अवधिमा ७ हजारभन्दा बढी मरेको थियो ।

२० लाख लागतमा कुखुरा हालेका गौतम अहिले लगानी डुबेपछि चिन्तित छन् । अन्य व्यवसायीको पनि कुखुरा मरिरहेको र लाखौं लगानी डुब्न लागेको भन्दै किसान चिन्तित बनेका छन् ।