माउन्टेन डिउ उत्पादक बिरुद्ध सरकार अदालतमा
गुगलपाटी संवाददाता हेटौंडा,२७ चैत्रमाउन्टेन डिउ उत्पादक कम्पनी बरुण वेभरेज प्रा.लि. बिरुद्ध घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर गरेको छ । काठमाण्डौं कोटेश्वरमा रहेको उक्त उद्योगको उत्पादन मान्टेन डिउको बोतल भित्र अखाद्य वस्तु भेटिएपछि कार्यालयले अखाद्य बस्तु उत्पादन तथा बिक्री गरेको भन्दै अदालतमा मंगलबार मुद्धा दायर गरिएको हो ।
सरकारी वकिलको राय सहित कार्यालयका प्रमुख चन्दन अमात्यले अदालतमा उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार मुद्धा दायर गरेका हुन् । हेटौंडा बजारमा पेय पदार्थ माउन्टेन डिउको बोतलभित्र अखाद्य बस्तु भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा कार्यालयले अदालतमा मुद्धा दायर गरेको खतिवडाले जानकारी दिए ।
उद्योगले बिभिन्न पेप्सी,मिरिण्डा,सेभेनअप, फ्रुटी लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ । खाद्य बस्तुको गुणस्तर सम्बन्धि मुद्धा जिल्ला प्रशासनले हेर्दै आएपनि यसपटक घरेलु तथा सना उद्योग कार्यालय अदालत पुगेको हो ।