हेटौंडामा हुने राष्ट्रिय फुटबलको मिति सारियो

गुगलपाटी संवाददाता
१९ फाल्गुन २०७५ ०८:४२

हेटौंडा–फागुन अन्तिम साताबाट हेटौंडामा हुने भनिएको राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । विराटनगरमा हुने महिला साफ फुटबल प्रतियोगिता, माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताका कारण प्रतियोगिता एकसाता पर सरेको हो ।

यसअिघ फागुन २९ गतेबाट चैत ९ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब चैत ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको तयारी आयोजकले सुरु गरिसकेको छ । प्रतियोगितामा दशवटा टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा आठवटा ‘ए’ डिभिजन क्लब, एउटा विदेशी र आयोजक टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्ने जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरुमा थ्रीस्टार, नेपाल आर्मी, नेपाल प्रहरी, हिमालय शेर्पा, संकटा, सशस्त्र प्रहरीको एपीएफ, च्यासल र सरस्वतीव युथ क्लब रहेका छन् । अफ्रिकन टोली डफिन्स र आयोजक मकवनपुर ११ ले प्रतियोगितामा सहभागीता जनाउनेछन् ।

यसअघि हेटौंडामा खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडा गोल्डकप प्रतियोगिता सञ्चालन हुँदै आएको भएपनि यसवर्षबाट प्राविधिक कारणले खेल आयोजकले स्थगित गरेपछि फुटबल संघले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।