सभामुख महराद्वारा माओवादीबाट राजिनामा
गुगलपाटी संवाददाता कठमाण्डौं
सभामुख कृष्ण बहादुर महराले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा निर्वाचित भए लगत्तै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट भइरहेपनि अहिले पार्टीमा म छैन’,उनले भने, ‘अहिले टतस्थ भूमिकामा रहनुपर्ने भएकाले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको हुँ ।’
साथै महराले तत्काल आवश्यक ऐन कानून वर्षे अधिवेशनमा बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । विधेयकको मस्यौदा बनाउने विषयमा सरकारसँग छलफल भइरहेको बताए ।
संविधान जारी भएको दुई वर्ष भित्र संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून बनाइसक्नु पर्ने संवैधानिक व्यवस्था भएकाले आगामी असोजसम्ममा आवश्यक सबै कानून बनाइसक्ने पर्ने छ । सभामुख महराले पनि सोही प्रावधान अनुसार आवश्यक ऐनको मस्यौदा बनाउने विषयमा सरकारसँग छलफल भइरहेको बताए ।
यस्तै जेठ १५ गते केन्द्रको बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भएकाले आगामी वर्षको नीति तथा कार्यक्रम र मन्त्रालयगत एजेन्डामा छलफल गर्नुपर्ने भएकाले बैशाख अन्तिम साता संघीय संसदको वर्षे अधिवेशन आह्वान हुने महराको भनाई थियो ।