जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा

गुगलपाटी संवाददाता
२१ फाल्गुन २०७५ ०२:१७

काठमाडौँ – जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ ।’ मन्त्रालय स्रोतले भन्यो,‘त्यसअघि भाषा परीक्षा हुन्छ ।’