१५ दिनभित्र राजधानी टुङ्गो लाग्छ : मुख्यमन्त्री
गुगलपाटी संवाददाताप्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १५ दिनभित्र स्थायी राजधानी टुङ्गो लाग्ने बताएका छन् । प्रदेशसभा बैठकपछि प्रतियक्रिया दिँदै उनले हिउँदे अधिवेशन भित्र राजधानी टुङ्गो लाग्ने बताएका हुन् । ‘हिउँदे अधिवेशन १५ दिन जति चल्छ,त्यसभित्रै राजधानी टुङ्गो लाग्छ’,उनले भने ।
वर्षे अधिवेशन सकिएको ३ महिनापछि आइतबार बाट हिउँदे अधिवेशन सुरु भएको हो । कार्य व्यवस्था परामर्श समिति बैठकको सहमति अनुसार सभामुख सानुकुमार श्रेष्ठले स्थायी राजधानी तोक्न कार्यविधि तोकेर प्रक्रिया अघि बढाउने सहमतिबारे संसदमा जानकारी गराए ।
आईतबार बसेको प्रदेशसभा बैठकले तीन वटा विधेयक दफावार समितिमा छलफलको लागि पठाएको छ । प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, सहकारी सम्बन्धमा व्यवस्था गर्न बेनेको विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।
सभामा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश बालवालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् । मुख्यमन्त्री पौडेलले मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । बैठक आज दिउँसो १ बजे बस्नेगरी सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका छन् ।