हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारको एक करोड, सांसदले ३ दिनको तलब दिने
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा — ३ नम्बर प्रदेश सरकारले २ नम्बर प्रदेशको बारा र पर्सामा हावाहुरी प्रभावितको लागि राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको आवास निर्माणको लागि सरकारको तर्फबाछ १ करोड सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
प्रदेश नम्बर ३ का सांसदले पनि हावाहुरी पीडितलाई सहयोग गर्ने भएका छन् । प्रभावितलाई ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ। आज मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १०९ सदस्यबाट ३ दिनको तलब सहयोग गर्ने निर्णय गरेको समितिका सदस्य रहेका कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको निर्णय मंगलबारको प्रदेश सभामा जानकारी गराइने र तलबबाट सीधै काटेर रकम सहयोग गरिने तयारी गरेको जनाएको छ ।
सोमबारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले हावाहुरी प्रभावितलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिएका थिए ।