नक्कली भिसा र टिकट देखाएर डेढ करोडको ठगी
गुगलपाटी संवाददाता विराटनगरक्यानडा पठाउने भनेर रकम लिई दलालले ठगी गरेको भन्दै सुनसरी र मोरङका ३० भन्दा बढीले श्रम कार्यालयमा उजुरी गरेका छन् । नक्कली भिसा र टिकट देखाएर दलालले रकम लिएको पीडितहरु बताउँछन् ।
मुख्य एजेण्टहरु निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालगायतले स्थानीय युवाको सहयोगमा ३० भन्दा बढीसँग डेढ करोड रुपैयाँ भन्दा बढी रकम लिएका पीडितहरुको भनाइ छ ।
दलालबाट ठगिएपछि सुनसरीका ६ जना र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजुरी गरेका छन् । सुनसरी रामधुनी नगरपालिकाका ६ युवाबाट ३७ लाख उठाएर दलाल फरार भएका छन् ।
ठगिनेहरुमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी छन् ।
गत असारमा नै पठाउने भन्दै पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएर भागेको पीडितहरुले बताएका छन् । रामधुनीका ६ जना युवाबाट राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले रकम उठाएका हुन् ।
त्यही समूहले मोरङका सात जना युवाबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले ३५ लाख लिएको श्रम कार्यालयमा उजुरी परेको छ । आफूहरु ठगिएको भन्दै मोरङ सुनवर्षी नगरपालिका ९ का हंशराज राजवंशी, कशंराज राजवंशी पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रंगेली नगरपालिका ५ का सुवासकुमार मण्डलले गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए ।
यो समूहले मोरङ र सुनसरीका ३० भन्दा बढी युवाबाट डेढ करोड रुपैयाँ उठाएको जानकारी आएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । ठगी गिरोहका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । तर उनी दिल्लीमा बस्दै आएका छन् । त्यस्तै गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झा झापाका हुन् ।
ठगीमा संलग्नलाई पक्राउ गरी उपस्थित गराउन श्रम कार्यालयले प्रहरी कार्यालयहरुलाई पत्र लेखेको छ ।
सञ्जेलका अनुसार मोरङबाट परेको उजरी भने वैदेशिक रोजगार बिभाग पुगेको छ । सञ्जेलले ठगी गर्ने गिरी र पुरीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय झापा र बाँकेको प्रशासन कार्यालयलाई समेत पत्रचार गरेको बताए ।