प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सचेतना तालिम सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडानेपाल रेडक्रस सोसाइटी हेटौंडा–१४ चुरियामाई उपशाखाको आयोजनामा वडाका स्थानीयलाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सचेतना तालिम दिइएको छ ।
दुईदिनसम्म चलेको तालिम बिहीबार समापन गरिएको हो । तालिममा वडाका करिब ४० जना स्थानीयको सहभागिता रहेको थियो । तालिम समापनसँगै रेडक्रसले वडाका ४ वटा विद्यालयलाई हात धुने साबुनसमेत वितरण गरेको छ ।
विद्यार्थी तथा शिक्षकलाई नियमित हात धुनको लागि प्रेरित गर्ने उद्देश्यले प्रति विद्यालय एक हजार वटा साबुन वितरण गरिएको हो ।
१४ नम्बर वडा कार्यालयको सहयोगमा तालिम तथा साबुन वितरण कार्यक्रम भएको हो । रेडक्रसका चुरियामाई उपशाखा प्रमुख मोहनसिं मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१४ नम्बर वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तालिमका प्रशक्षिक केशब समर्पण, हरिप्रसाद पौड्याल, वडा सदस्य चमेली सिञ्जाली मगर, भृकुटी माविका प्रधानाध्यापक अच्युत रिजाल, दिपज्योति माविका शिक्षक उत्तमप्रसाद आचार्य, शुभप्रसाद माविका प्रधानाध्यापक सीता तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।