मकवानपुरका विद्यार्थीहरु गरे सिट्ठी आन्दोलन

गुगलपाटी संवाददाता हेटौंडा
२८ चैत्र २०७५ ०८:१९

मकवानपुर हेटौंडा क्यम्पसका विद्यार्थीहरु सिटी बजाउँदै आन्दोलनमा उत्रेका छन् ।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडकमा सिट्ठी आन्दोलन सुरु गरेका हुन् ।
हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसका गरी करिब डेढ सय भन्दा बढी विद्यार्थीले सडकमा सिठ्ठी बजाएर नाराबाजी गरेका छन् । हेटौंडाको सीमा चोकमा कोण सभा गरी सिठ्ठी आन्दोलन समापन गरिएको संयुक्त विद्यार्थी मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा गत फागुन २७ गते भएको सहमतिको हुबहु कार्यान्वयन हुनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अनुसार भोली (शुक्रबार) हेटौंडामा सडक नाटक देखाई सडक बहस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी (सिडिओ) आस्मान तामाङले विद्यार्थीहरुसँगको बठैक बोलाएका छन् । सिडिओ तामाङले भोली (शुक्रबार) दिउँसो २ बजेलाई बैठक बोलाएको ४५ प्रतिशत छुट अभियानका अभियान्ता रामकृष्ण शिवाकोटीले बताए ।