२०७५ सालकै सेयर कारोबार हुने आज अन्तिम दिन, रोबारमा सुस्त देखिएको
गुगलपाटी संवाददाता काठमाडौंपुँजी बजार परिसूचक नेप्से वर्षको अन्तिम दिनको कारोबारमा सुस्त देखिएको छ । बिहीबार २०७५ सालकै सेयर कारोबार हुने अन्तिम दिन हो । अब सेयर बजार वैशाख २ गतेमात्र खुल्नेछ । बिहीबार सूचक केही दबाबमा परे पनि वर्षका अन्तिम दिनहरुका कारोबारबाट पुँजी बजारले नयाँ आशाको संकेत गरेको छ ।
चैतको मध्यदेखि नेप्से सूचक र कारोबार रकममा सुधार आउन थालेको हो । वैशाख लागेसँगै बजारले थप गति लिने लगानीकर्ताको अपेक्षा छ । नयाँ वर्षको आगमनसँगै सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ ।
पुँजी बजार सुधारमा महत्त्वपूर्ण आधार मानिने बैंक ब्याजदर क्रमशः घट्ने आँकलनहरु भइरहेका छन् । कर्जाको ब्याजदर घट्दा सेयर बजारमा प्रत्यक्ष फाइदा पुग्ने गर्छ । एकातिर कर्जासँगै निक्षेपको ब्याजदर घट्दा निक्षेपकर्ता सेयर बजारमा आकर्षित हुने गर्छन् भने अर्कोतिर लगानीकर्ताले सस्तो ब्याजदरमा सेयर कर्जा पाउने भएकाले उनीहरुले सेयर बजारमा लगानी बढाइदिन सक्छन् ।
सामान्यतयः चैत–वैशाखपछि सेयरको सिजन सुरु हुने गर्छ । सिजनको प्रभाव पनि अब देखिन थाल्ने विश्वास गर्न सकिन्छ । सेयर बजारमा नीतिगत तथा कानुनी सुधार भइरहेका छन् । लगानीकर्तामैत्री कानुनको प्रभाव पनि विस्तारै बजारमा देखिनेछ ।
नेप्से सूचक ०.५९ अंकले घटेर ११८४.०२ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.०५५ ले तल झरेको हो । १७० कम्पनीको ३९ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १२ लाख ५१ हजार २४१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।