सिंगापुरले गुमायो तीन विकेट
गुगलपाटी संवाददाता काठमाडौंनेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएपश्चात सिंगापुरले सुरूमै ३ विकेट गुमाइसकेको छ।
नेपालका लागि कुशल मल्लले २ विकेट लिए भने अर्को विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए।
पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए। चाबिराले ११ बल खेल्दै २ रन जोडेका थिए।
यस्तै सातौ ओभरको पहिलो बलमा मल्लले अर्का सिंगापुरे खेलाडी अमन देशाईलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए।
देशाईले २ बल खेल्दै १ रन जोडेर आउट भए।
यस्तै १३औं ओभरको चौथो बलमा मल्लले सिंगापुरका अर्का ओपनर साई भेन्यूगोपाललाई आउट गरे। उनी ४५ बल खेल्दै तीन चौकाको सहयोगमा १८ रन जोडेर कप्तान रोहित पौडेलको हातबाट समातिए।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो।
सुरुवात राम्रो नगरेको नेपालका लागि ओपनर रित गौतम १ रन बनाएर तथा तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाएर आउट भएका थिए।
त्यसपछि तेस्रो विकेटको लागि ओपनर पवन सर्राफले कप्तान रोहित पौडेलसँग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० कटाए।
१९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए। उनले ५३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए।
सर्राफको विकेट लगत्तै सन्दिप जोरा खाता नखोली आउट भए।
त्यसपछि भिम शार्कीले १९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए। त्यसपछि आएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर आउट भए।
त्यसपछि सातौं विकेटको लागि नवौं नम्बरमा आएका राशिद खानसँग रोहितले ७७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० कटाए। राशिद अर्धशतक बनाउन २ रनले चुके। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए।
त्यसपछि रोहितले आठौं विकेटका लागि कमल सिंह ऐरीसँग ३७ रनको साझेदारी गरे।
शतकको नजिक पुगेका रोहित ४६ औं ओभरमा आउट भए। ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १०५ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे।
रोहितको विकेटपछि ३१ रन बनाएर ऐरि पनि आउट भए। उनले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। त्यसपछि ४६ औं ओभरको पाँचौ र छैठौ बलमा लगातार विकेट गुमाउँदै ४६ ओभरमा २८२ रनमा अलआउट भयो।
सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए। यस्तै राउल शर्मा र भिनित मेहताले समान २र२ विकेट लिए।