एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस

गुगलपाटी संवाददाता काठमाडौँ
२ बैशाख २०७६ १०:४९

 राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ ।

दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ ।

केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् ।