व्यवसायीसँग १३ करोड २६ लाख राजश्व असुल गर्न निर्देशन

गुगलपाटी संवाददाता काठमाडौं
२ बैशाख २०७६ ११:४६

महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले वैदेशिक रोजगार व्यवसायीहरुले समेत कर छल्ने गरेको पाइएको भन्दै त्यस्ता व्यवसायीसँग कर असुल गर्न निर्देशन दिएको छ ।

प्रतिवेदनको पृष्ठ १ सय १२ मा अर्थ मन्त्रालय मातहत रही भाग ७४ मा वैदेशिक रोजगार व्यवसायीको आय शीर्षकमा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगार व्यवसायीले टिकट खरिद गर्दा खरिद गरेको रकम आयमा नदेखाएको र त्यसबाट हुने आम्दानीसमेत लुकाएको भन्दै १३ करोड २७ लाख शुल्क तथा त्यसको ब्याजसमेत असुल गर्न निर्देशन दिएको हो ।
आम्दानी नै नदेखाएको तर खर्च भएको रकम ९० करोडभन्दा बढी भएपछि ती व्यवसायीहरुले आम्दानी नदेखाई कर लुकाएको महालेखा परीक्षकको ठहर छ ।

त्यसै आधारमा ९० करोड ८ लाख ९६ हजारको खरिद तथा ३७ करोड २ लाख ५१ हजारको मात्रै आम्दानी देखाएको कारण आम्दानी नदेखाएको बाँकी ५३ करोड ६ लाख ४२ हजार रकमको २५ प्रतिशतले हुन आउने कर अर्थात् १३ करोड २६ लाख ५८ हजार रुपैयाँ असुल गर्न तथा उक्त कर नबुझाएको अवधिको ब्याजसमेत असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार ठूला करदाता कार्यालय मातहत रही टिकट बेच्ने एक टिकट विक्रेताले ३ ठैला वैदेशिक रोजगार व्यावसायीलाई मात्रै ८ करोड १ लाखको हवाई टिकट बिक्री गरेको देखाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले वैदेशिक रोजगार व्यावसायीले आय व्याय विवरण उल्लेख नै नगरी कारोबार गर्ने गरेको र कर छली गर्ने गरेकोतर्फ संकेत गर्दै व्यावसायीको आयव्यायमा ‘क्रसचेक’ गर्न निर्देशन दिएको हो ।