पहिलोपटक खनिएको सुरूङको प्रधानमन्त्री ओलीद्वारा ब्रेकथ्रु

गुगलपाटी संवाददाता काठमाडौं
३ बैशाख २०७६ ०८:००

नेपालमै पहिलोपटक मेसिनबाट खनिएको सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ब्रेकथ्रु गरेका छन्। बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरूङ खनेर सकिएको छ।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको हो।

२०७४ कात्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन (टिबिएम)ले सुरूङ खन्न थालिएको थियो।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले टिबिएमबाट सुरूङ खनेर सम्झौताभन्दा एक वर्ष अघि नै काम सम्पन्न गरेको हो

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि त्यसका लागि आवश्यक अन्य पूर्वाधार निर्माणको काम सुरू नै भएको छैन। सिँचाइका लागि चाहिने ब्यारेजको काम पनि थालिएको छैन। त्यस्तै हेडवर्कको पनि काम सुरू भएको छैन। ४६ मेगावाट बिजुली पनि उत्पादन गरिने बताइएको यो आयोजनामा त्यसको काम पनि शुरु भएको छैन।

सबै काम एकसाथ नहुँदा समयमात्र बढेको छैन आयोजनाको लागत पनि दुई गुणा बढी भएको छ। सुरूमा १६ अर्बमा बनाउने भनिएको आयोजनाको लागत अहिले बढेर ३६ अर्ब पुगेको छ।