सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजार नेपाली कामदार
गुगलपाटी संवाददाता काठमाडौँसरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजार हाराहारी नेपाली कामदार रहेका छन् । अवैध बाटो हुँदै इराक पुगेका नेपाली कामदारले अनेक खाले समस्या झेल्नुपरेको त्यहाँस्थित नेपाली कामदारका संगठनहरूले जनाएका छन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको उनीहरूले बताएका छन् ।
प्रतिबन्ध लगाइए पनि हजारौं नेपाली महिला मानव तस्करको भर परेर भारतको बाटो हुँदै इराक पुगेका छन् । गत माघ १६ मा मात्रै भारतीय प्रहरीले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट १४७ महिलासहित एक सय ७९ नेपालीलाई उद्धार गरेर घर पठाएको थियो । उद्धार गरिएकामध्ये ५७ जनाको गन्तव्य इराक देखिएको थियो, जसमा ४१ महिला थिए ।
इराक पुगेका नेपालीहरू पछिल्ला वर्षहरूमा संगठित पनि भएका छन् । कुर्दिस्तान प्रवासी नेपाली समाज, नेपाल तामाङ घेदुङ कुर्दिस्तान, नेपाली महिला समाज कुर्दिस्तान, कुर्दिस्तानी प्रवासी नेपाली समाज सुलेमानी खुलेका छन् ।
गैरआवासीय नेपाली संघको मेत इराकमा शाखा छ । संघसंस्थाका प्रतिनिधिहरूका अनुसार इराकमा रहेका नेपालीमध्ये करिब ७५ प्रतिशत छन् । कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष राजीव थिङका अनुसार कुर्दिस्तानको इरबिल, दुहोक, सुलेमानिया, मसुल, बग्दाद र बसराजस्ता ठाउँमा नेपाली कामदारको संख्या उल्लेख्य छ । अधिकांश कामदार संगठित मानव तस्करका गिरोहलाई महँगो शुल्क बुझाएर इराक छिरेका हुन् । सात वर्षदेखि इराकमा बस्दै आएका एक नेपालीले कान्तिपुरसँग भने, ‘सरकारी प्रतिबन्धकै कारण केही दलाललाई मनग्गे पैसा कमाउने अवसर मिलेको छ । त्यस्ता दलालको नेपाली राजनीतिमा पहुँच देखिन्छ ।’
उनले सरकारले प्रतिबन्धको निर्णय पुनर्विचार नगरेसम्म नेपालीहरू मानव तस्करको गिरोहमा पर्ने बताए । उनका अनुसार संगठित मानव तस्करहरूले नेपालीबाट चर्को रकम असुल्छन् र जस्तोसुकै काममा पनि लगाइदिन्छन् । ‘इराकको सामान्य नियम कानुन र भाषाबारे केही थाहै नदिई अन्धाधुन्ध तरिकाले इराक पुर्याइने काम निरन्तर छ,’ उनले भने ।
पौडेल इराक गन्तव्यमा प्रतिबन्ध लगाउनुको सट्टा व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिन्छन् । ‘हजारौं युवा रोजगारीको खोजीमा छन्,’ उनले थपे, ‘इराकमा पहिलेकै जस्तो अवस्था पनि छैन । केही नेपालीले राम्रो तलबसहित काम गरिरहेका छन् ।’
इराकस्थित स्थानीय कामदार सप्लाई कम्पनीसँग मिल्ने, नेपालबाट पैसा असुलेर कामदार पुर्याउने र रोजगारदाता कम्पनीसँग पनि प्रतिकामदारको हिसाबले कमिसन खाने प्रवृत्ति फस्टाएको छ ।
गैरआवासीय नेपाली संघ इराक अध्यक्ष पौडेल त्यहाँका जेलमा एक सय ५० देखि दुई सय नेपाली विभिन्न मुद्दामा जेल परेको अनुमान गर्छन् । ‘नेपाल सरकारको उपस्थिति नहुँदा कति नेपाली जेलमा छन् भन्ने यकिन तथ्यांक छैन । जेल परेकालाई कानुनी सहायता पनि हुँदैन,’ उनले भने ।
प्रतिबन्धकै कारण नेपालीहरू वर्षौं भइसक्दा पनि हत्तपत्त नेपाल फर्किन चाहँदैनन् । कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष थिङले भने, ‘अफिसले बिदा दिँदा पनि नेपाली हत्तपत्त स्वदेश फर्किंदैनन् । फर्केपछि फेरि आउन दलाललाई लाखौं खुवाउनुपर्ने बाध्यता छ ।’
नेपाली महिला समाज कुर्दिस्तानकी अध्यक्ष सानु शेर्पा सरकारी प्रतिबन्धको सबैभन्दा ठूलो मार इराकमा रहेका नेपाली महिला कामदारले भोग्नुपरिरहेको छ ।
‘सरकारी प्रतिबन्धका कारण दलालहरू फस्टाइरहेका छन्,’ उनले भनिन् । सात वर्षअघि इराक छिरेकी सानुका अनुसार इराक सरकारले घरेलु कामदारमैत्री नीति अपनाएको छ र महिला कामदारलाई खाडी मुलुकमा भन्दा बढी सुरक्षित छ । ‘सरकारले प्रत्येक महिना घर र कम्पनीमा कार्यरत कामदारको सुविधाबारे सोधीखोजी गर्छ,’ उनले भनिन्, ‘इराक सरकारका कारणभन्दा नेपाल सरकारको प्रतिबन्धका कारण समस्या छ ।’
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मी प्रतिबन्धित इराकमा कति नेपाली कामदार छन् भन्नेबारे मन्त्रालयसँग कुनै तथ्यांक नभएको बताए । ‘यसबारे हामीलाई कसैले औपचारिक रूपमा बताएका पनि छैनन्,’ उनले भने । उनले प्रतिबन्धित इरान जान खोज्नेहरूलाई रोक्ने सरकारी प्रयास जारी रहेको बताए । ‘इराक प्रतिबन्ध खुलाउने विषयमा मन्त्रालयमा कुनै छलफल भएको छैन,’ उनले भने । प्रतिबन्धित इराक छिर्ने चल्तीको नाका भनेको नेपालबाट भारतको नयाँदिल्ली हुँदै दुबई र त्यहाँबाट इराक छिर्ने हो ।
माघको दोस्रो साता केन्द्रीय अनुसन्धान ब्युरोले नयाँदिल्लीको पहाडगन्जमा बसेर ट्राभल एजेन्सीको आवरणमा काम गर्ने नवराज बस्नेतलाई पक्राउ गर्यो । प्रहरी बयानका क्रममा उनले इराक पठाउने संगठित समूहको कार्यशैलीबारे बताएका थिए ।
टुरिस्ट भिसा निकालेर दुबई हुँदै इराक छिरेपछि रेसिडेन्सी अनुमति मिलाउन नसकेर सयौं नेपाली कामदार अलपत्र पर्ने गरेका छन् । सीआईबी स्रोतका अनुसार अवैध रूपमा इराक छिर्ने पुरुषले ४ देखि ५ लाख रुपैयाँ खर्चेको देखिन्छ भने महिलाको हकमा दलालहरूले घरधनीसँग सुरुमै असुल्ने रकमबाट खर्चको व्यवस्था मिलाइन्छ ।
दुबई पुगेका नेपालीलाई पनि दलालकै अर्को एजेन्टले रिसिभ गरेर इराक उडाउने गर्छ । गैरआवासीय नेपाली संघ इराक अध्यक्ष खेम पौडेलका अनुसार प्रतिबन्धका कारण दलाल सक्रिय छन् । ‘यसले खर्च मात्रै बढाएको छैन, जोखिम पनि बढाएको छ,’ उनले भने, ‘सरकार बेलैमा सचेत हुनुपर्छ ।’ स्रोतः कान्तिपुर