नियमावलीलाई अवज्ञा गर्दै विधेयक पारित

गुगलपाटी संवाददाता हेटौंडा
५ बैशाख २०७६ १२:२०

 ३ नम्बर प्रदेशको प्रदेश सभा नियमावलीको अवज्ञा गर्दै प्रदेश सभाबाट एउटा विधेयक पारित भएको छ । विहिबार बसेको बैठकमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सरकारी सम्बन्धी विधेयक बहुमतले पारित भएको हो ।

प्रदेश सभा नियमावलीको दफा ९९ को उपदफा २ अनुसार विधेयक ऐन बनेमा हुन सक्ने पटके र सालवसाली खर्चको अनुमानित विवरण उल्लेख नगरी ल्याईएको ३ नम्बर प्रदेश सभा सदस्य रमेश पौड्यालले बताएका छन् । उक्त कुरा प्रदेश सभाबाट विधेयक पारित हुनु अगाडी सांसद पौड्यालले वैठकमा उठाएपछि मन्त्री लामाले समितिको वैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्न आग्रह गरेपछि विधेयक निर्णायर्थ पेश भएको थियो । उक्त विधेयक बहुमतले पारित भएको छ । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पेश गरेका विधेयक प्रदेश सभा नियमावलीको विपरित भन्दै विवेकशील साझाका प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले विपक्षीमा मतदान गरेपछि विधेयक बहुमतले पारित भएको हो । विधेयक पारित गर्न हुन्न भन्ने पक्षमा सांसद श्रेष्ठले मात्रै आवाज उठाएका हुन् ।

यस्तै विहिबार बसेको ३ नम्बर प्रदेशसभा बैठकले प्रदेशका कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको ‘प्रदेशका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन विधेयक’ सर्वसम्मत पारित भएको छ