भैरवडाँडा जाने बाटो स्ल्यब ढलान आजबाट सुरु

गुगलपाटी संवाददाता हेटौँडा
१३ बैशाख २०७६ ०७:१६

करिब दश लाख रुपियाँ लगातमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१, भैरवडाँडा जाने बाटोमा स्ल्याब ढलान सुरु भएको छ । करीब एक सय पाँच मिटर सडक स्ल्याब ढलान शुक्रबारबाट सुरु भएको हो ।

ढलानको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले भैरवडाँडा पर्यटकीय र धार्मिक गन्तव्य भएका कारण त्यसक्षेत्रका लागि आवश्यक थप ६५ मिटर स्ल्याब ढलानका लागि तत्काल आफूले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उक्त स्थानमा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) को प्रयोग गरेर स्ल्याब ढलान गरिएको हो । हेटौँडामा नै पहिलो पटक उक्त प्रविधिको प्रयोग गरेर सामाजिक कार्य गरिएको हो ।

गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन आरएमसी कंक्रिटको प्रयोग गरिएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

वडा अध्यक्ष न्यौपानेले आफ्नो वडाको पर्यटकीय क्षेत्र र ग्रामीण बस्तीमा जाने बाटो भएका कारण उक्त बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफू जुटिरहेको बताए । ‘गाउँगाउँमा पुग्ने बाटोको विस्तार गर्ने कार्य गरिरहेका छौं । त्यसक्षेत्रमा स्ल्याब ढलान हुन बाँकी रहेको बाटोहरुलाई क्रमशः प्राथमिकता दिँदै अगाडि बढ्नेछौं ।’, वडा अध्यक्ष न्यौपानेले भने।

उपभोक्ता समिति अध्यक्ष श्याम सुनारले भैरवडाँडा जाने बाटो स्ल्याब भएसँगै उक्त क्षेत्रमा पर्यटकलाई सहज पुग्ने विश्वास लिएको बताए । उनले विकास निर्माणको क्रममा नयाँ प्रविधिको प्रयोग गर्दा नौलो अनूभूति भएको बताए ।

स्ल्याब ढलानमा महिला नेतृ तथा वडा सदस्यद्वय वेगम बराल र इश्वरी रसाइलीको उपस्थिति रहेको थियो ।