‘होइन भने सरकारले बचाउने होइन, नियन्त्रण गर्छ, कारबाही गर्छ, गिरफ्तारी गर्छ,’ : प्रम ओली

गुगलपाटी संवाददाता  काठमाडौं
१७ बैशाख २०७६ १०:०१

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता नहुने बताएका छन्।

कतिपयले सरकारले प्रतिबन्ध फिर्ता लिनुपर्ने भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आतंकपूर्ण क्रियाकलाप नरोकेसम्म प्रतिबन्ध फिर्ता नहुने बताए।

मंगलबार पार्टीको संसदीय दलको बैठकमा बोलेका अध्यक्ष ओलीले विप्लव समूहमाथिको प्रतिबन्ध बम पड्काउने र मान्छे मार्ने प्रवृत्तिविरूद्ध भएको प्रष्ट पारे।

‘कतिपयले प्रतिबन्ध फिर्ता लिनुपर्छ भनेका छन्। यो फिर्ता लिन लगाएको होइन। आतंकपूर्ण क्रियाकलाप, विध्वंसात्मक क्रियाकलाप र त्यस्तो विचार प्रवृत्ति अन्त्य गर्नका लागि लगाएको हो,’ उनले भने, ‘फिर्ता गर्ने भन्ने कुरा हुँदैन। बम पड्काउन, मान्छे मार्न प्रतिबन्ध लगाइएको हो।’

विप्लव समूहले हिंसाको नीति परित्याग गरेर हतियार बुझाउने बाटोमा गए मात्रै निष्कर्षमा पुग्न सकिने प्रधानमन्त्रीको भनाइ छ।

‘हिंसाको नीति परित्याग गरेर हतियार बुझाउने बाटोमा जानुभयो भने सेफल्यान्डिङ हुन्छ। निष्कर्षमा पुग्छ,’ उनले भने, ‘होइन भने सरकारले बचाउने होइन, नियन्त्रण गर्छ, कारबाही गर्छ, गिरफ्तारी गर्छ,’