मेयर महतद्वारा धर्मशालाको उद्घाटन
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा निर्माण भएको २ कोठे धर्मशालाको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले धर्मशालाको उद्घाटन गरेका हुन् । हेटौंडा १७ मा रहेको अंगारेश्वर मन्दिर परिसरमा धर्मशालाको निर्माण गरिएको हो ।
दिवंगत भएका बावु आमाको सम्झनामा छोराहरुले उक्त धर्मशाला निर्माण गरेका हुन् । धर्मशाला निर्माणको लागि १३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । स्वर्गीय पीता यदुकुमार भट्ट तथा माता गुण कुमारी भट्टको सम्झनामा छोराहरु केशव भट्ट र दीपक भट्टले धर्मशाला निर्माणको लागि सहयोग गरेका हुन् ।
अंगारेश्वर मन्दिर निर्माण समितिका अध्यक्ष तारा बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मेयर महतले आमा बुबाको सम्झनामा धर्मशाला निर्माण गर्ने दाजुभाईलाई विशेष धन्यवाद व्यक्त गरे । प्राचिन सम्भावना बोकेका मन्दिर रहेछ, मेयर महतले भने, ‘यसको विकास र विस्तारका लगि गुरुयोजना तयार पार्नुहोस । आवश्यक सहयोग र समन्वयका लागि उपमहानगर तयार छ ।’
विकास निर्माणका धेरै क्षेत्रहरु छन्, उनले भने विकास एकपटक गरेर पुग्ने वा सकिने कुरा होईन । यो निरन्तर प्रकृया हो ।’ नगर क्षेत्रको विकासको लागि उपमहानगर सदैव तत्पर रहेको महतले बताए ।
कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने केशव भट्टले स्वर्गीय हुनुभएका बुबाकै प्रेरणाले नै सामाजिक क्षेत्रमा क्रियाशिल रहन मद्दत मिलेको बताए ।
बुबा सहयोगि एवम् मिलनसार हुनुहुन्थ्यो, उनले भने, ‘सामाजिक क्षेत्रमा सहयोगी भूमिकामा सधै रहनुहुने बुबा हामीमाझ नरहनु भएपनि उहाँको सम्झनामा यो धर्मशाला निर्माणको लागि सहयोग गरेको हुँ ।’
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य शंकर राई, मन्दिर व्यवस्थापना समितिका सल्लाहकार कमल बहादुर विष्ट, नवराज विष्ट, जिल्ला न्यायधिवक्ता हरि भट्टलगायतकाले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।