अल कायदा अहिले कहाँ छ ?

गुगलपाटी संवाददाता काठमाडौं
२२ बैशाख २०७६ १०:५०

अल कायदाका संस्थापक ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानमा मारिएको आठ वर्ष भइसकेको छ।

हजारौँ लडाकूहरू रहेको बिन लादेनले नेतृत्व गरेको सङ्गठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिएको थियो।

अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो।

तर बिन लादेनको मृत्यु र इस्लामिक स्टेट आइएस समूहको जन्मपछि अल कायदाको शक्ति र प्रभाव धेरै नै घटेको थियो।

अहिले अल कायदाको अवस्था के छ र यसबाट विश्वलाई के कस्तो खतरा छ त ?

शान्त पुनरुत्थान
आइएस समूह हालका वर्षहरूमा समाचार शीर्षकहरूमा छाइरहँदा अल कायदाले ससाना प्रादेशिक समूहहरूसँग गठबन्धन गर्दै चुपचाप आफूलाई पुनरुत्थान गर्ने नीति अपनायो।

अमेरिकी नेशनल इन्टिलिजेन्सको ताजा प्रतिवेदनले अल कायदाका माथिल्लो तहका नेताहरूले सङ्गठनमा विश्वव्यापी निर्देशन संरचना बलियो बनाउँदै पश्चिमा र अमेरिकामाथि आक्रमण गर्न उत्प्रेरित गरिरहेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घको यो वर्षको सुरुमा प्रकाशित विश्व आतङ्कवादसम्बन्धी प्रतिवेदनमा अल कायदा अझ धेरै महत्त्वाकांक्षी हुँदै गएको देखिएको र अन्तर्राष्ट्रिय प्रभूत्व बनाउने महत्वाकांक्षाका साथ थुप्रै स्थानमा यो सक्रिय रहेको उल्लेख छ।

यो वर्षको फेब्रुअरीमा यूकेको जासूसी संस्थाका प्रमुख एलेक्स योङ्गले पनि अल कायदाको पुनरुत्थान भइरहेको बताएका थिए।

सहयोगी सङ्गठनको सञ्जाल
अमेरिकी सेनाको आक्रामक ड्रोन अभियान, बिन लादेनको मृत्यु र आइएसको चुनौतीका कारण अल कायदा नयाँ रणनीति अपनाउन बाध्य भयो।

यसले अफ्रिका, मध्यपूर्व र दक्षिण एशियामा सफलताका साथ सहयोगी समूहहरू वा शाखाको सञ्जाल बनाएको छ। अल कायदाको सञ्जालमा भएका संगठनहरू स्थानीय समूहहरू हुन् जसले अल कायदाको नेतृत्वमा रहेका बचनबद्धता प्रकट गरेका छन्।

आइएसको रणनीतिको विपरीत अल कायदाले स्थानीय समुदायलाई नएक्ल्याउने र स्थानीय समूहहरूसँग मिलेर समुदाय विकासका कामहरू गर्ने नीति लिएको छ।

सन् २०१३ मा अल कायदाले जिहादको लागि सामान्य निर्देशिका जारी गरेर सङ्गठनभित्र महत्त्वपूर्ण सुधारहरू गरेको थियो।

सो दस्तावेजमा समुदायमा आधारित तरिकामाथि जोड दिँदै लडाकूहरूलाई जनसमुदायलाई भड्काउने कुनै पनि कार्य नगर्न निर्देशन दिइएको थियो।

अल कायदाले भ्रष्ट्राचार र सीमान्तकरणजस्ता स्थानीय समस्यालाई आफ्नो एजेन्डामा मिलाउने कला सिकेको छु, पेम्ब्रोक कलेज अक्सफोर्डका डा। एलिजावेथ केन्डल भन्छिन्।

त्यसरी यसले आफूलाई स्थानीय स्तरमा उद्धारकर्ताको रुपमा स्थापित गर्दै रहेको छ, उनले भनिन्।

अल कायदाले आफ्नो सञ्जालमा सङ्गठनहरु र शाखाहरूमार्फत आक्रमणहरू बढाएको छ।

सन् २०१८ मा यसले विश्वभर ३१६ आक्रमण गरेको द आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट एसीएलइडीले जनाएको छ।

भविष्यको नेतृत्व
सन् २०१५ मा अल कायदाका नेता आयमन अल जावाहिरीले एकजना युवालाई गुफाको सिंहको रुपमा परिचय गराएका थिए।

ती युवा हाम्जा बिन लादेन थिए जो ओसामा बिन लादेनका एक छोरा हुन् र जसलाई अल कायदाको भविष्यको नेताका रूपमा हेरिएको छ।

अमेरिकाले विश्व आतंकी मानेर हाम्जाको बारेमा सूचना दिनेलाई १० लाख डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

जिहादीहरूको नयाँ पुस्ता तयार गरेर सङ्गठनलाई पुनरुत्थान गर्ने कार्यमा यी ३० वर्षीय युवा सफल हुने अल कायदाको दाबी छ।

हालैका वर्षहरूमा उनले अडियो र भिडियो सन्देशहरू मार्फत अमेरिका र उसका सहयोगी पश्चिमा राष्ट्रहरूमा आक्रमण गरेर बुबाको मृत्युको बदला लिन आह्वान गरेका छन्।बीबीसी

च्याटम हाउसकी मध्यपूर्व र उत्तर अफ्रिका प्रमुख लिना खातिबका अनुसार आइएसको पतनले अल कायदालाई आफ्नो रणनीति र संचालनमा विवेकशील हुन सिकाएको छ।

उनी भन्छिन्स् अल कायदा अहिले रणनीतिक नेतामा आधारित भइरहेछ। यसले हाम्जा बिन लादेनलाई अल कायदाको नेताको रूपमा आफ्नो बुबाको स्थान लिनका लागि आवश्यक समर्थन जुटाउन मद्दत गरिरहेको छ।