पाँच सय दिनपछि रिहा भए रोयटर्सका दुई पत्रकार

गुगलपाटी संवाददाता यांगुन
२४ बैशाख २०७६ ११:१०

 म्यान्मार सरकारले पाँच सय दिनभन्दा बढी थुनेपछि रोयटर्सका दुई पत्रकारलाई मंगलबार रिहा गरेको छ।

३३ वर्षीय वा लोन र २९ वर्षीय क्याव सु ऊलाई गत सेप्टेम्बरमा म्यान्मारको अदालतले दोषी ठहर गरी ७ वर्ष कैदको फैसला सुनाएको थियो। उनीहरूलाई अफिसियल सिक्रेट एक्ट भंग गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो। उनीहरूलाई राष्ट्रपतिको क्षमादानअन्तर्गत रिहा गरिएको हो।

राष्ट्रपति विन मिन्टले गत महिनायता हजारौं बन्दीलाई क्षमादान दिएका छन्। म्यान्मारमा राष्ट्रपतिको क्षमादानअन्तर्गत मंगलबार ६ हजार ५ सय २० बन्दीलाई रिहा गरिएको छ।

उनीहरूले म्यान्मारका सैनिक शासकले घोषणा गरेको प्रजातन्त्रउन्मुख शासन व्यवस्थामाथि प्रश्न उठाएको भन्दै उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो।

म्यान्मामा सरकारले परम्परागत नयाँ वर्ष ९यस वर्ष अप्रिल १७ मा सुरु० का बेला बन्दीहरूलाई क्षमादान दिई जेलमुक्त गर्ने अघोषित प्रचलन नै बसालेको छ। जेलमुक्त भएपछि लोन र क्यावलाई रोयटर्सका सहकर्मीले लगेर परिवारसँग पुनःमिलन गराएका थिए।

सन् २०१७ डिसेम्बरमा पक्राउ पर्नुअघि उनीहरू म्यान्मारको पश्चिमी प्रान्त रखाइनमा सुरक्षाकर्मी र बौद्ध समुदायबाट अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायका १० जनाको हत्याबारे अनुसन्धान गरिरहेका थिए। सन् २०१७ अगस्टमा सुरक्षाकर्मीले रखाइनमा गरेको कारवाहीमा ती रोहिंग्या मुस्लिम मारिएका थिए। एजेन्सी