अनि उनी निःशब्द भइन्

गुगलपाटी संवाददाता काठमाडौँ
२९ बैशाख २०७६ ०६:२७

 त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षीय छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो ।

त्यसपछि के-के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक साउदी अरब पुगेको १६ महिना मात्रै भएको थियो । घरको खबर सुनेलगत्तै उनले आपतकालीन बिदा मागे र आफ्नै खर्चमा टिकट काटेर वैशाख दोस्रो साता काठमाडौं आइपुगे ।

घटना केही साता पुरानो थियो, घाउ भने आलै । शुक्रबार उनी श्रीमती, ७ वर्षकी छोरी र सानो छोरा लिएर सिनामंगलको एक अस्पताल जाँदै थिए । निन्याउरो अनुहार लगाइरहेकी छोरी संवाददातालाई देख्नेबित्तिकै आमाको छेउमा लुटपुटिइन् । छेवैको रेस्टुरेन्टमा आमाछोरीलाई अलि परै राखेर घटनाक्रमबारे जान्न खोज्दा उनले भने, श्रीमतीले छोरी बलात्कृत भएको खबर सुनाएपछि मेरो हंसले ठाउँ छोड्यो । मनै अडिएन, तत्कालै फर्किहालें ।

नेपाल फर्किनुअघि उनले फोनबाटै घटनाबारे प्रहरीमा उजुरी टिपाएका थिए । तर आरोपित अहिलेसम्म पक्राउ परेका छैनन् । के गरौं र कसो गरौं भएर छटपटिएका उनीसँग छोरीमाथि भएको बलात्कारको घटनाबारे सोध्ने प्रश्न धेरै थिएनन् । उनको हतास अनुहारले धेरै कुरा बताइरहेको थियो । सुरुमा उनले आफू साउदी जानुपर्नाको बाध्यता सुनाए । यो छोरी जन्मिँदा पनि म साउदीमै थिएँ, छोरीको फोटो हेरेरै चित्त बुझाएँ, उनले भने, दुई वर्षपछि आएर बल्ल उसको अनुहार देखें । केही समय घर बसेर फेरिसाउदी गएको थिएँ ।

प्रत्येक बिदामा आउँदा, हुर्किंदै गरेकी छोरी हेर्दै फर्किंदै गरेर उनले केही वर्ष गुजारे । यसरी हुर्किएकी छोरी ७ वर्ष पुग्दा यस्तो घटनामा परीु यति भनेपछि बालिकाका ३३ वर्षे पिता बोल्न सकेनन् । त्यसपछि संवाद बालिकाकी आमासँग भयो । श्रीमान् साउदी गएपछि उनी अरूका घर सफाइ गर्ने, कपडा धुने र भाँडा माझ्ने गरेर आम्दानी गरिरहेकी थिइन् ।

बिहान झिसमिसेदेखि साँझसम्म एकैदिन चारवटा घरको काम भ्याउँथिन् । एक वर्षयता उनी बानेश्वर शान्तिनगरको मिलीजुली चोकस्थित राजु खरेलको घरमा काम गरिरहेकी थिइन् । बिदाको दिन छोरीलाई सँगै लिएर जान्थिन् ।

उनले एक महिनाअघिको क्षण सम्झिइन् । काममा निस्कनै लागेका बेला छोरीले सोधिन्, तपाईं कुन-कुन घरमा काममा जानुहुन्छ मम्मी । त्यो घरमा चाहिँ नजानुस् है ।

उनले सोधिन्, किन  ?
त्यसपछि २ कक्षामा पढ्ने छोरीले भनेका कुराले उनी छाँगाबाट खसेजस्तै भइन् ।
तपाईं छतमा कपडा धोएका बेला त्यो मान्छेले मलाई कोठामा लगेर चकलेट दिँदै के(के गर्छ, यही भनेकी थिइन् छोरीले । छोरीले यस्तो नराम्रो काम दुई पटक गरेको र पिसाब फेर्ने ठाउँमा दुखिरहेको बताइन् । यति सुनाएपछि निकै बेर अडिइन् र भनिन्, के भनौं, तपाईंले बुझिहाल्नुभयो होला ।

छोरीको कुरा सुनेपछि उनी के गरौं र कसो गरौंको छटपटीमा परिन् । नजिककी एकजना दिदीलाई यो कुरा सुनाइन् । ती दिदीले पनि छोरीलाई के भयो नानु भन्दै सोधिन् । छोरीले पहिलो पटक भनेकै कुरा दोहोर्‍याइन् ।

त्यसपछि उनले घरधनी राजुकी श्रीमतीलाई सबै कुरा सुनाइन् । उनले सोध्दा पनि बालिकाले उही कुरा बताइन् ।
बालिकाकी आमाका अनुसार राजुको परिवारका अरू सदस्यले पनि यो घटनाबारे थाहा पाइसकेका छन् । राजुका २०र२२ वर्षीय छोराले थाहा पाएपछि ५० वर्ष उमेर आसपासका बाबुलाई हकारेको उनले बताइन् । उनीहरूले यो कुरा कसैलाई नभन्न, इलाज गर्दिन्छु भनेका थिए तर म मानिनँ, उनले भनिन् ।

घटनाको केही दिनपछि मात्रै यसबारे थाहा पाएकी आमाले के गरौं र कसो गरौंमै केही दिन बिताइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरमा उनले १८ वैशाखमा अरोपित किटेर लिखित निवेदन दिएकी छन् । उनले घटनापछि छोरी लगातार टोलाएको, झर्को मानेको र राति राम्ररी नसुतेको बताइन् । भनिन्, हिजो रातभर सुत्नै सकिन । खाली दुख्यो दुख्यो भन्छे । उनका अनुसार छोरीको योनीबाट लगातार पानी बगिरहेको छ । उनले यसबारे प्रहरीलाई पनि सुनाएकी थिइन् । प्रहरीले नै उपचारका लागि अस्पताल लैजान सल्लाह दिएपछि उनी शुक्रबार बिहानै श्रीमान्, छोरी र सानो छोरासहित अस्पताल जाँदै थिइन् ।

प्रहरीका अनुसार विपन्न वर्गकी उनी एक वर्षदेखि उक्त घरमा काम गर्दै आएकी थिइन् । छोरीमाथि भएको त्यो अपराधसँगै उनले अर्को कुरा पनि सुनाइन्, त्यो घरधनीले मलाई पनि जबर्जस्ती गर्न खोजेको थियो । उनले तीन-चार पटक नै आफूलाई एकान्तमा पारेर जबर्जस्ती गर्न खोजेको तर आफू जेनतेन उम्किएको बताइन् । तर कामबाट निकालिनुपर्ने डर र ठूला मान्छेसँग जोरी खोज्न नसकिने ठानेर मैले यो कुरा कसैलाई भन्न सकिनँ । मलाई जबर्जस्ती गर्न नसकेपछि छोरीमाथि त्यस्तो गरेछु भन्दाभन्दै उनका आँखाका चेप रसाए ।

घटनापछि बालिकाको व्यवहारमा धेरै परिवर्तन आएको ३३ वर्षे आमाले बताइन् । सधैं हाँस्ने खेल्ने र उप्रिmने छोरी हिजोआज जोसुकै केटा मान्छे देख्दा पनि तर्किन्छे, उनले भनिन् । उनका अनुसार पछिल्लो दुई दिनयता उनी स्कुल जान पनि डराएकी छन् ।
काम गर्न गएको घरधनीबाट पछिल्लो दुई महिनाको काम गरेको पैसा आफूले नपाएको, पीडिकको छोरीको सुत्केरी स्याहर्दाको रकम पनि नपाएको र उल्टै आफूसग २० हजार सापटी मागेर तीन महिनादेँख फिर्ता नगरेको उनले बताइन् ।

ुसबै कुरा सहेको थिएँ, उनले भनिन्, छोरीको कुरा सुनेपछि त मनै भाँचियो । यति भनेपछि केहीबेर टोल्हाएकी उनले मोबाइल खोलिन् र फोटो ग्यालरीमा रहेका केही तस्बिर देखाइन् । तस्बिरमा कलिली छोरीको गोप्य अंगमा घाउ देखिन्थ्यो । उनले भनिन् भोलि प्रमाण होला भनेर राखेकी ।

महानगरीय प्रहरी वृत्त बानेश्वरमा डीएसपी गोविन्द काफ्लेका अनुसार उजुरी परेलगत्तै घटनाबारे अनुसन्धान थालिएको छ । किटानी जाहेरीपछि बालिकाको बयान, घटनास्थल निरीक्षण र पीडित बालिकालाई थापाथलीस्थित परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गराएको काफ्लेले बताए । स्वास्थ्य परीक्षण रिपोर्ट पढेको स्रोतले भन्यो, बालिकाको योनीमा कोरिएको देखिन्छ । केही समयअघि बलात्कार भएको संकेत मिल्छ ।

प्रहरीमा उजुरी परलगत्तै आरोपित घरधनी फरार रहेको र उनको खोजी कार्य जारी रहेको डीएसपी काफ्लेले बताए । स्रोतका अनुसार फरार घरधनी काभ्रेको नाला क्षेत्रमा लुकेर बसेको सुराक पाएपछि प्रहरी त्यहाँ पनि पुगेको थियो । तर आरोपित फेला परेनन् । डीएसपी काफ्लेले अदालतबाट पक्राउ पुर्जी लिएर खोजी जारी राखेको र प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखासँग पनि समन्वय गरेर अनुसन्धान अगाडि बढाइराखिएको बताए ।

पीडित बालिकाका बाबुको भने साउदीको एक महिनाको छुट्टी सकिने दिन आउन लागिसकेको छ । मन त्यसै त्यसै भुटभुटिएको छ , उनले भने, त्यो मान्छे पक्राउ परेर मुद्दा चलेपछि जान पाए ढुक्क हुन्थ्यो । सुरुमा एक्लै परिएला कि जस्तो डर लागे पनि अहिले स्थानीय आमा समूह र अरूले पनि साथ दिएको उनले सुनाए । स्रोतः कान्तिपुरदैनिक