असुरक्षित गर्भपतन गराउन खोज्दा १३ वर्षीय बालिका अहिले मृत्युको मुखमा

गुगलपाटी संवाददाता बाँके
१ जेष्ठ २०७६ १०:४२

यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा १३ वर्षीय बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन्। नेपालगञ्ज उपमहानगरपालिका–१० का उनी कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले आफैँ गर्भपतन गर्न खोजेकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो।

प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए। “बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौँ,” उनले भने।

प्रहरी उपरीक्षक पौडेलले भने, “भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौँ। घटनाको गहन अनुसन्धान भइरहेको छ।” १३ वर्षीय बालिका गर्भवती हुनु र कसले गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए। रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ।