पुलमा शंकास्पद वस्तु राखेको आरोपमा पाँचजना पक्राउ
गुगलपाटी संवाददाता झापाझापाको कनकाई पुलमा कुकर बम भन्दै शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले इटहरी चोक नजिकैबाट दुईजना र झापाबाट तीनजनालाई पक्राउ गरेको हो।
उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ।झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनामा अन्यको पनि संलग्नता हुनसक्ने भएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको बताए। वैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर भेटिएको थियो।
मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राखेको पर्चा पनि सँगै फेला परेको थियो।