प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हेटौंडामा हुने

गुगलपाटी संवाददाता
४ जेष्ठ २०७६ १२:५१

हेटौँडा/मकवानपुरको हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा जेठको १० र ११ गते प्रतियोगिता पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको विषयमा जानकारी दिन आज हेटौँडाको न्युज क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक बुद्धिनाथ न्यौपानेले प्रतियोगितामा देशभरका २० जिल्लाका १८९ जना खेलाडीको सहभागिता हुने बताए ।
प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० किलो माथि तथा ६० किलो तल र महिला तर्फ ५५ किलो माथिले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा दोश्रो तथा तेश्रो हुनेले क्रमश १५ तथा १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी बेष्ट फाईटरले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रशिक्षक बिष्णु श्रेष्ठले वताए ।
प्रतियोगितामा १० लाख रुपैँया खर्चहुने आयोजक समिति संयोजक शिवनारायण श्रेष्ठले बताए । २० वर्ष पछि जिल्लामा हुन लागेको राष्ट्रिय पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितालाई सफल बनाउनका लागि उनले मकवानपुरबासी सबैलाई आग्रह समेत गरेका छन् ।
प्रतियोगितामा सहभागी खेलाडीलाई प्रवेश शुल्क नि:शुल्क गरेको र ३ दिन सम्म खाना तथा बस्नको सहित ब्यवस्था गरेको आयोजक संघका अध्यक्ष सुर्दशन खतिवडाले बताए । जिल्लामै पहिलो पटक फुल कन्ट्याक्ट कराते प्रतियोगितामा खेल अवधिभर खेलाडीहरुको दुर्घटना विमाको ब्यवस्था गरेको समेत उनको भनाई रहेको छ ।
जिल्लामा लागूऔषध प्रयोगकर्ता यूवा जमात वढेको र खेल क्षेत्रमा लागेका यूवाहरु लागू औषभको दुव्यसनमा नफस्ने अध्ययनले देखाएकाले यूवाशक्तिलाई खेलमार्फत देश निमार्णमा सरिकहुन मदतपुग्ने भएकाले आफुहरुले कराते मार्फत मकवानपुरलाई पुनःअगाडी बढाउने प्रयत्न गरेको उनले बताए ।