केटी जिस्क्याएको निहुँमा एक युवकको छुरी हानी हत्या

गुगलपाटी संवाददाता धनकुटा
५ जेष्ठ २०७६ ०७:२५

 धनकुटामा केटी जिस्क्याएको निहुँमा एक युवकको छुरी हानी हत्या गरिएको छ । छुरा प्रहारबाट महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २२ बर्षिया सन्तोष लिम्बूको मृत्यु भएको हो ।

वैशाखे पूर्णीमाको दिन साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा आफ्नो बैनी जिस्काएको निहुमा सोही वडाका २५ वर्षीय घनेन्द्र लिम्बुले सन्तोषमाथि छुरा प्रहार गरेका हुन् । सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि धनकुटा अस्पतालमा ल्याईएको छ ।

अहिले सन्तोषमाथि छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरी नियन्त्रणमा लिईएको छ भने घटनामा संलग्न फरार रहेका अर्का जीवन लिम्बूको खोजीकार्य भई रहेको जिप्रका धनकुटाका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए ।