कैलाशमा आजबाट भलिबल प्रतियोगिता

गुगलपाटी संवाददाता हेटौंडा
५ जेष्ठ २०७६ १२:०२

मकवानपुरको कैलाश गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता कैलाश खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको प्रायोजनामा आजबाट शुरु भएको छ । प्रतियोगितामा गाउँपालिकाभित्र रहेको १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको आज एक समारोह बिच कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले उद्घाटन् गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले बेला बखत आयोजना भईरहने खेलकुद प्रतियोगिताले मानिसको स्वास्थ्य मात्र राम्रो नभई सकरात्मक सोंचको समेत विकास हुने बताए । साथै खेलकुदले मान्छेलाई अनुसाशित हुन सिकाउने र आफू मात्रै नभई आफनो देशलाई समेत अन्तराष्ट्रिय जगतमा चिनाउन ठूलो मद्दत गर्ने भन्दै खेलकुद क्षेत्रमा युवाहरुको राम्रो भविष्य रहेको बताए ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कैलाश खेलकुद विकास समिति संयोजक छेकु लामाले गाउँपालिकामा पहिलो पटक प्रतियोगिताको आयोजना गरेको भन्दै आउने वर्षहरुबाट यस प्रतियोगितालाई अझै व्यवस्थित र धेरै भन्दा धेरै खेलहरु समावेश गरिने बताए ।

प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र, द्धितिय हुनेले ३० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र र तृतिय हुनेले १५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कैलाश खेलकुद विकास समिति संयोजक छुकु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष छुकुमाया थिङ, वडा नम्बर—१ का वडा अध्यक्ष पेमा लामा, वडा नम्बर–२ अध्यक्ष राजेन्द्र घिसिङ लगायतको आतिथ्यता रहेको थियो । यस कार्यक्रममा घाटु नाच समेत देखाएको थियो ।