हात्तीको अक्रमणबाट एकको मृत्यु

गुगलपाटी संवाददाता राजविराज
७ जेष्ठ २०७६ १०:२७

जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कञ्चनरुप नगरपालिका-६, जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भएको हो।

खेतमा काम गरेर घर फर्कँदै गरेका चौधरीलाई सोमबार साँझ साढे सात बजे जंगली हात्तीले बाटोमा आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

हात्तीले टाउकोमा किचेपछि उनको घटनास्थलमै मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले बताए।

यसअघि गत चैत २० गते हनुमाननगर कंकालिनी नगरपालिका-१, भारदहका ३५ वर्षीय पवन लौगी हात्ती आक्रमणमा घाइते भएका थिए।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले लखेटेपछि उनी भागेर रुख चढेका थिए। हात्तीले तानेर झटारो हानेपछि उनको करंग भाँचिएको थियो।

सप्तरीमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्ती, अर्ना, बँदेललगायतका जंगली जनावरको आक्रमणबाट घाइते तथा ज्यान गुमाउनेको संख्या धेरै छ।

गत वर्ष फागुन १ गते कन्चनरुप नगरपालिका-५, पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया पत्नी दुर्गीदेवीको पनि ज्यान गएको थियो। त्यसअघि नै कन्चनरुप नगरपालिका–१०, बदगामाकी ७० वर्षीया फुलवादेवी यादव, हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कन्चनरुप नगरपालिका-१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवको मृत्यु भइसकेको छ।

पीडित परिवारले राहत तथा क्षतिपूर्ति नपाएको गुनासो गरिरहेका छन्।