दुईतिहाईको दम्भले सरकार निरंकुशता तर्फ: नेता केसी (फोटो फिचर)
गुगलपाटी संवाददाता हेटौंडानेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको बताउनुभयो ।
कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानमा बोल्दै केन्द्रीय प्रतिनिधि प्रमुख अतिथि नेता केसीले अहिलेको सरकार विकास समृद्धि भन्दापनि भ्रष्टाचार, कानुन र संविधान मिच्दै एकपछि अर्को एकलौटी ढंगबाट निर्णय गर्दै हिडेकोले सरकारलाई खबरदारी गर्न र आमजनतालाई जानकारी दिन कांग्रेसले जागरण अभियान सुरु गरेको जानकारी दिनुभयो ।
विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको आदर्श, सिद्धान्त एवं ईतिहासदेखि अहिलेसम्म गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिनुका साथै कम्युनिष्ट सरकारले गरेका भष्ट्रचार, घुसखोरी, बलमिच्याई र झुठा आश्वासनको भण्डाफोर गर्न कांग्रेस देशैभर जागरण अभियान लिएर गाउँ,गाउँ हिडिरहेको बताउनुभयो ।
कांग्रेस मकवानपुर सभापति एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले देशैभर गरेको एकमहिने जागरण अभियानको बारेमा प्रष्ट पार्दै कांग्रेस गरिव, निमुखा, महिला, जनजातिको पक्षमा सधैँ लागिपर्ने बताउनुभयो । कांग्रेस परिवर्तनको बाहक रहेको बताउँदै नेता बानियाँले सबै राजनीतिक दललाई लोकतान्त्रिक बाटोमा ल्याउने एक मात्रै पार्टी भएको बताउनुभयो ।
४ नम्बर क्षेत्रमा आफू प्रदेशसभा सदस्य भएपछि धेरै विकास निर्माणका कार्य गरिरहेको र भोलीका दिनमा पनि निरन्तर गर्ने बताउँदै नेता बानियाँले कम्युनिष्ट जस्तो काण्डैकाण्डमा फस्ने, झुटको खेति र गफ गरेर आफु कहिल्यै नबस्ने बताउनुभयो ।
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको राष्ट्रिय जागरण अभियानमा विभिन्न पार्टी परित्याग गरि ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेलले स्वागत गर्नुभएको जागरण अभियानमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु, पूर्व सभापतिहरु, सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु, ४ नम्बर क्षेत्रका विभिन्न तहका पार्टीका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा क्रियाशिल सदस्यहरुको उपस्तिथि रहेको थियो ।