पाँचथर हत्या प्रकरणबारे तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गुगलपाटी संवाददाता काठमाण्डौ
८ जेष्ठ २०७६ ०९:१५

 गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उहाँले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गर्नु भएको छ ।

गृहमन्त्री थापाले घटनामा हत्या गरिएका नौ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ । त्यस घटनामा भागेर बाँच्न सफल १२ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताउनुभयो ।

सोमबार राति भएकोसामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । नौ जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दूरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले पारिवारिक रिसइबीका कारण माखिमले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ ।