भारतीय लोकसभाका दर्जन चुनावी क्षेत्र : जहाँ अडेको छ सबैको नजर
गुगलपाटी संवाददाता काठमाडौंगत ११ अप्रिलमा सुरु भएको १७औं भारतीय लोकसभा चुनावको आज मत गणना भइरहेको छ। जम्मा ५४३ निर्वाचन क्षेत्र रहेकामा यसपालि ५४२ क्षेत्रमा चुनाव भएको हो। ७ चरणमा भएको चुनावका लागि ८ हजार ४० उम्मेदवार मैदानमा उत्रिएका थिए।
आज तिनै ८ हजार ४० उम्मेदवारको भाग्यको फैसला हुँदै छ। तीमध्ये यी १२ चुनावी क्षेत्रमा सबैको नजर गढेको छ, किनकि यहीबाट चर्चित र प्रभावशाली उम्मदेवार चुनावी मैदानमा उत्रिएका छन्।
उत्तर प्रदेश
वाणारसी
सन् २०१४ को आमचुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका अरविन्द केजरीवाललाई ३ लाखभन्दा बढी मतले हराएका थिए। यसपटक मोदी फेरि यही क्षेत्रबाट चुनाव लडेका छन्। उनका विरुद्ध भारतीय राष्ट्रिय कांग्रेसले अजय राय र सपा-बसपा-रालोद गठबन्धनले शालिनी यादवलाई उठाएको छ।
मथुरा
सन् २०१४ को चुनावमा बलिउड अभिनेत्री हेमा मालिनी यही क्षेत्रबाट चुनाव लडेकी थिइन्। भारतीय जनता पार्टी (बlजेपी) बाट लडेकी उनले चुनाव जितेर सांसद बनेकी थिइन्। उनले राष्ट्रिय लोकदल प्रमुख अजित सिंहका छोरा जयन्त चौधरीलाई पराजित गरेकी थिइन्।
हेमा मालिनी फेरि यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी छिन्। यस पटक सपा-बासपा-रालोद गठबन्धनले यहाँ बिजेपीलाई रोक्नका लागि कुवर नरेन्द्र सिंहलाई मैदानमा उतारेको छ। कांग्रेसले भने महेश पाठकलाई उठाएको छ।
लखनऊ
केन्द्रीय गृहमन्त्री राजनाथ सिंह यही क्षेत्रका वर्तमान सांसद हुन् र यसपटक पनि उनी यहीँबाट बिजेपी उम्मेदवार बनेका छन्। उनका विरुद्ध सपा-बसपा गठबन्धनले फिल्म अभिनेता शत्रुघ्न सिन्हाकी पत्नी पुनम सिन्हालाई टिकट दिएको छ। उनी पहिलो पटक चुनाव लडिरहेकी छिन्।
अमेठी
सन् २००४ को चुनावमा यो क्षेत्रबाट कांग्रेसका अध्यक्ष राहुल गान्धी सांसद बनेका थिए। दुई पटक बाहेक यो क्षेत्रमा कांग्रेसले लगातार चुनाव जितिरहेको छ।
सन् २०१४ मा यहीबाट बिजेपीले स्मृति इरानीलाई उम्मेदवार बनाएको थियो र उनले तीन लाख मत पाएकी थिइन्। यसपटक पनि उनी यही क्षेत्रबाट चुनावी मैदानमा छिन्। राहुल गान्धी र इरानीबीच यो क्षेत्रमा कडा टक्कर हुने देखिएको छ।
अजमगढ
सन् २०१४ मा मुलायमसिंह यादव यहाँबाट चुनावी मैदानमा उत्रिएका थिए। यसपटक भने उनका छोरा अखिलेश यादव महागठबन्धनको तर्फबाट उम्मेदवार छन्। कांग्रेसले यसपटक यहाँ आफ्नो कुनै उम्म्देवार उठाएको छैन। यो क्षेत्रको जातीय समीकरणलाई ध्यानमा राखेर बिजेपीले स्थानीय लोकप्रिय भोजपुरी गायक दिनेशलाल यादवलाई चुनावी मैदानमा उतारेको छ। यो पूर्वोत्तर प्रदेशको एकमात्र यस्तो क्षेत्र हो जहाँ सन् २०१४ मा ‘मोदी लहर’ देखिएको थिएन्।
मैनपुरी
सन् १९५६ देखि अहिलेसम्म यो निर्वाचन क्षेत्रमा समाजवादी पार्टीले कब्जा जमाइरहेको छ। यसपटक यो निर्वाचन क्षेत्रबाट मुलायमसिंह यादव स्वयं चुनाव लडिरहेका छन्। सन् २०१४ मा पनि उनले यहीबाट चुनाव जितेका थिए। तर, उनले पछि यो क्षेत्र छाडिदिएका थिए।
उनले छाडेपछि यहाँबाट उनका छोरा तेजप्रताप यादवले उपचुनावमा ठूलो अन्तरमा जित हासिल गरेका थिए। कांग्रेसले यस क्षेत्रबाट आफ्नो प्रत्यासी उठाएको छैन भने बिजेपीले प्रेमसिंह शाक्यलाई उठाएको छ। उनी उपचुनावमा पनि बिजेपीका प्रत्यासी थिए।
सुल्तानपुर
सन् २०१४ मा यो क्षेत्रमा बिजेपीका प्रत्याशी वरुण गान्धीले जितेका थिए। तर, यसपटक भने बिजेपीबाट केन्द्रीय महिला तथा बाल विकासमन्त्री मेनका गान्धी यहाँबाट चुनावी मैदानमा छिन्। उनी इन्दिरा गान्धीका कान्छा छोरा संजयका पूर्वपत्नी समेत हुन्। चुनाव प्रचारका बेलामा उनले मुसलमानमाथि गरेको टिप्पणी विवादास्पद भएको थिए।
बिहार
पटना साबिह
गान्धी मैदान पटना साहिबको ठूलो प्रसिद्धि छ। यहाँ कुनै समय महात्मा गान्धी, सुभाषचन्द्र बोस, जवाहरलाल नेहरु, राम मनोहर लोहिया, अटल बिहारी वाजपेयी जस्ता ठूला नेताले चुनावी र्याली गरेका थिए।
सन् २००९ को चुनावमा यहाँ बिजेपीबाट चर्चित कलाकार शत्रुघ्न सिन्हाले जितेका थिए। सन् २०१४ मा पनि उनी यही क्षेत्रबाट जितेर सांसद बनेका थिए। यसपटक भने बिजेपीले उनलाई टिकट नदिएर केन्द्रीय मन्त्री रवि शंकर प्रसादलाई टिकट दिएको थियो। कायस्थ बहुल यो चुनाव क्षेत्रमा शत्रुघ्न सिन्हाले यसपाली भने कांग्रेसबाट चुनाव लडेका छन्।
बेगुसराय
राष्ट्रदोहका मुद्दा लागेका जेएनयुका पूर्व विद्यार्थी नेता कन्हैया कुमार सिपिआईका तर्फबाट यो क्षेत्रमा चुनावी मैदानमा छन्। सन् २०१४ मा पहिलो पटक यो क्षेत्रमा बिजेपीका भोला सिंहले चुनाव जितेका थिए। सन् २०१८ मा उनको मृत्यु भएको थियो।
यसपटक बिजेपीले गिरिराज सिंहलाई यो क्षेत्रको टिकट दिएको छ। कांग्रेससहितको महागठबन्धनले भने यहाँबाट तनवीर हसनलाई चुनावी मैदानमा उतारको छ। बेगुसराय भूमिहार र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो।
मध्य प्रदेश
भोपाल
यहाँ यसपालि बिजेपीकी प्रज्ञा ठाकुर र कांग्रेसका दिग्विजय सिंहका बीचमा टक्कर छ। सन् २०१४ मा बिजेपीका आलोक संजरले यहाँबाट जित हासिल गरेका थिए। बिजेपीकी प्रत्यासी ठाकुर यसपटकको चुनावी प्रचारका बेला निकै विवादमा परेकी थिइन्। उनले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से राष्ट्रभक्त रहेको अभिव्यक्ति दिएकी थिइन्।
गुजरात
गान्धीनगर
यो क्षेत्रमा बिजेपीका अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन्। शाह पहिलोपटक चुनावी मैदानमा छन्। उनका विरुद्ध कांग्रेसका स्थानीय विधायक सी जे चावडालाई आफ्नो प्रत्यासी बनाएको छ। सन् २०१४ को आम चुनावमा बिजेपीका पूर्वअध्यक्ष लालकृष्ण आडवाणीले यहाँबाट जित हासिल गरेका थिए। परम्परागत रुपमा यो क्षेत्रलाई बिजेपीको गढ मानिन्छ।
दिल्ली
उत्तर-पूर्वी दिल्ली
सन् २०१४ मा यो क्षेत्रमा बिजेपीका मनोज तिवारीले कांग्रेसका तत्कालीन सांसद जेपी अग्रवाललाई हराएका थिए। यसपटक उनका विरुद्ध तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी शिला दीक्षित चुनावी मैदानमा छिन्। दिल्लका ७ क्षेत्रमध्ये यो क्षेत्रलाई सबै भन्दा कडा प्रतिस्पर्धा भएको क्षेत्र मानिएको छ।