कृषि मन्त्री लामा सम्मानित
गुगलपाटी संवाददाता११ जेष्ठ २०७६ १६:०५
कृषिमन्त्री लामालाई जन्मस्थान राक्सिराङ्गमा सम्मान प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मकवानपुरको राक्सिराङ्ग गाँउपालिकाका स्थानियलाई गाँजा खेती छाडेर व्यवसायीक कृषि खेती गर्न आग्रह गर्नुभएको छ ।
शनिवार राक्सिराङ्ग गाँउपालिका वडा नम्बर ६ द्धारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री लामाले परम्परागत खेती प्रणालिबाट माथी उठ्न राक्सिराङ्ग बासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृषि र पर्यटन मार्फत राक्सिराङ्गको विकास हुन्छ, त्यसका सबै अग्रसर हुुनुपर्छ,प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गर्छ ।’ यसबर्ष राक्सिराङ्ग गाँउपालिकामा कृषि सडकका लागि सबैभन्दा धेरै बजेट विनियोजन भएको भन्दै उहाँले गाँउमा उत्पादन भएका कृषिजन्य बस्तुहरुले सहज रुपमा बजार पाउने बताउनुभयो । सो अवसरमा मन्त्री लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलियाले नेकपा नेतृत्वको सरकारले जनताले अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभयो । उहाँले गाँउगाँउमा विकासको लहर सृजना भएको भन्दै बजेटको सही कार्यान्वयन गर्न सबै नागरिक सजग हुनुपर्ने बताउनुभयो ।
प्रदेशलाई संमृद्ध बनाउने अभियानमा लागेको भन्दै उहाँले आगामी आर्थिक बर्षमा झन् तीब्रताका साथ काम हुने दावी गर्नुभयो । यसबर्ष बृद्धभत्ता र कर्मचारीको तलब बढाएर देशमा कम्युनिष्ट सरकारको अनुभूति नागरिकलाई प्रदान गरिने उहाँको भनाई छ ।
यस्तै प्रदेश नम्बर ३ का सांसद ओम घलानले निर्वाचनमा जनतासंग गरेका प्रतिबद्धता क्रमशः पुरा हुँदै गएको बताउनुभयो । उहाँले जनताका समस्या समाधान गर्न निरन्तर लागि परेको दावी गर्नुभयो । कार्यक्रममा पुर्व सांसद गोविन्दराम चेपाङ, नेकपा मकवानपुरका जिल्ला सदस्य लाल बहादुर थापा, नेकपा चितवनका नेता गोविन्द कंडेल,श्यामलाल विक,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट लगाएतको सहभागिता रहेको थियो ।
– नारायणी अनलाइनको सहयोगमा