समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता मकवानपुर
१४ जेष्ठ २०७६ १३:०६

फ्रेण्ड्स् हेटौँडा मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका प्रतिनिधि, राजनैतिक दल तथा सञ्चारकर्मीहरुबिच समलिङ्गी तेस्रोलिङ्गी समुदायको बारेमा समन्वय तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका भिम तिमल्सिना, यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघका उपाध्यक्ष भूमिका श्रेष्ठ, नेपाली काँग्रेसका नेता प्रदिप कोईराला, विभिन्न वडाका वडाअध्यक्ष, प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण फ्रेण्ड्स् हेटौँडा मकवानपुरका कार्यक्रम संयोजक सुरज थापा ‘किरण’ ले गरेका थिए । कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघका उपाध्यक्ष भूमिका श्रेष्ठले यौनिक तथा लैँगिक अल्पसंख्यकहरुको अधिकार संविधानले सुनिश्चित गरेता पनि व्यवहारमा लागु नभएको बताए । अहिले पनि मकवानपुर सहित देशका विभिन्न क्षेत्रमा संविधानमा व्यवस्था भए अनुरुप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले सजिलैसँग नागरिकता तथा पासपोर्ट नपाएको उनले गुनासो गरिन् । जिल्ला प्रशासनमा नागरिकता लिन गएकालाई संविधानमा आएता पनि ऐन नबनिसकेको भन्दै फर्काउने गरेको उनले बताईन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारका लागि वडास्तरबाटै कदम चालिनुपर्नेमा उनले जोड दिईन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे सचेतना कार्यक्रम देशका विभिन्न ४० वटा जिल्लामा सञ्चालन भईरहेको आयोजकले जनाएको छ ।