हिदम लामाको अभिव्यक्तीले भीमफेदीमा तनाव
गुगलपाटी संवाददाताभीमफेदी : भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विवाद भइरहेको खानेपानीको विषयमा अभिव्यक्ती दिएको भन्दै आज शुक्रबार गाउँपालिकाको कार्यालयमा तनाव भएको छ ।
भीमफेदी गाउँपालिका ९ नम्बरको मुलखोलाको स्रोत प्रयोग गरेर भीमफेदीको २ नम्बर वडामा खानेपानी लैजानको लागि काम सुरु भएपछि दूई वडा विच विवाद सुरु भएको थियो । डेढ खोलाको मुहानको रुपमा रहेको मुलखोलाको पानी थुनेर भीमफेदी २ को चुनियाँ क्षेत्रमा पठाउँदा भीमफेदी ९ को भैंसेचौर, बासुकी, खर्क हुँदै सिम्ले सम्मको नहर, कुलो सुक्ने र केहि स्थानको खानेपानी स्रोत समेत सुक्ने भन्दै स्थानीयहरुले भीमफेदी २ को खानेपानी योजना रोक्न बारम्बार छलफल गरिरहेको थियो । विवाद कै अवस्थामा दूई नम्बर वडाका एक उपभोक्ता समितिका पदाधिकारीले “हामीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले जसरी भए पनि काम गर्नु पर्छ कसैले छेक्न सक्दैन भन्नुभएको छ” भन्दै काम अगाडी बढाउन थालेपछि भीमफेदी ९ नम्बर वडाका स्थानीयले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि भीमफेदी ९ का स्थानीय बासिन्दाहरुले आज शुक्रबार गाउँपालिकामा डेलिगेसन गरेको थियो ।
भीमफेदी २ नम्बर वडाको चुनिया, पुरानो गाउँ लगायत करिब २ सय ५० घर धुरीको लागि भन्दै गाउँपालिकाले खानेपानी ल्याउने तयारी गरेको थियो । गाउँपालिकाले खानेपानीको स्रोतको रुपमा मुलखोलाबाट पानी ल्याउने भन्दै काम सुरु गरेपछि मुलखोलाका उपभोक्ताहरुले विरोध गरेका हुन् । विवाद अगाडी मुलखोलाको पानी ६३ एम एमको पाईप बराबरको खानेपानी दिने सहमती गरेता पनि त्यो भन्दा धेरै पानी लैजाने लागेपछि विवाद भएको स्थानीय संघर्ष समितिका संयोजक राजकुमार पुडासैनीले बताए ।
उक्त विषयमा गाउँपालिका अध्यक्ष हिदम लामालाई स्थानीय जनताले भेट्न खोज्दा राजनीतिक विषय भन्दै तर्किएका थिए । भीमफेदी ९ का ४३ जना स्थानीय बासिन्दाहरु आन्दोलन गर्न भन्दै गाउँपालिकाको कार्यालयमा जम्मा भएका थिए । गाउँपालिकामा अध्यक्ष लामाले सम्बोधन नगरेपछि उपाध्यक्ष पार्वती रानाले आन्दोलनरत भीमफेदी ९ का स्थानीय वासिन्दाहरुलाई सम्बोधन गरेकी थिईन् । उनले गाउँपालिकाले विकास गर्न खोजेको भन्दै कसैलाई असर नपर्ने गरि विकास गर्ने बताईन । ९ नम्बर र २ नम्बर दुवै वडाको समस्यालाई बुझेर सहमती अनुसार काम अगाडी बढाउन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन समेत दिएकी छिन् । रानाले भीमफेदी ९ र २ नम्बर वडाका वडाध्यक्ष राखेर सम्बोधन गरेकी हुन् ।