बेपत्ता समाजका संयोजकद्वारा आयोगमा उजुरी
गुगलपाटी संवाददाता गोरखाबेपत्ता समाज गोरखाको अजिरकोट गाउँपालिकाका संयोजका कृष्णउदास खनालले सरकारले गठन गरेको बेपत्ता छानबिन आयोगमा आफ्ना मान्छेहरुको खोजीका लागि उजुरी दिएका छन् ।
उनले आफ्ना मान्छे बेपत्ता बनाउनेहरुलाई कारवाहीको माग गर्दै उजुरी गरेका हुन् । खनालका पिता चन्द्र प्रसाद खनाल सहित भरत अधिकारी,माधव अधिकारी,बुद्धिबल बिक तथा रामश्री तामांगलाई बेपत्ता बनाउने बिरुद्ध कारवाहीको माग गर्दै उनीहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धका क्रममा खनाल र अधिकारीद्वयलाई तत्कालिन बभ्रबहादुर गणका सेनानी राजिव थापा समूहले पक्राउ गरी लाश समेत बेपत्ता बनाएको थियो । बेपत्ता पारिएका ब्यक्तिहरुको उत्खनन् गरी शव आफन्तलाई बुझाउन र दोषीलाई मुलुकी ऐनको कर्तब्य ज्यान तथा शरिर बन्धक सम्बन्धी महलबाट कारवाहीको सिफारिस गर्न पनि माग गरिएको संयोजक खनालले बताए ।
आयोगका अधिकारीहरुले भने पहिलो चरणमा हाल १३ जिल्लामा बेपत्ता खोज्ने कार्य शुरु भएको र छिट्टै नै गोरखा लगायतका जिल्लामा यो अभियान संचालन गरिने र सो क्रममा बेपत्ता परिवारका सदस्यहरुसंग भेटी छलफल गरी आफन्त खोजिने बताएका छन् ।