मेक्सिकोमा एक पत्रकारको हत्या

गुगलपाटी संवाददाता मेक्सिको
२९ जेष्ठ २०७६ ०६:४२

 मेक्सिकोको दक्षिण पश्चिममा मंगलवार एक जना पत्रकारको हत्या गरिएको छ ।

प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रूपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरू सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् ।

मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।

पत्रकारहरूका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो । सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ ।

लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरूले देखाएका छन् ।

हत्याका आरोपीहरूमाथि यहाँ बिरलै सजाय हुने गरेको छ ।